गान्तोक: सिक्किमकी प्रख्यात पर्वतारोही छिरिङ चोदेनले युरोप महादेशको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण गरेकी छन्। उनले आज बिहान युरोपेली समय अनुसार ७:३० बजे विश्वको एक प्रमुख शिखरको चुचुरोमा पाइला टेकेकी हुन्।
विश्वका सात महादेशका सर्वोच्च शिखरहरू (सेभेन समिट्स) आरोहण गर्ने लक्ष्य राखेकी चोदेनको यो दोस्रो सफलता हो। यसअघि उनले गत वर्षको अगस्ट महिनामा अफ्रिकाको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट किलिमन्जारो’ को सफल आरोहण गरेकी थिइन्।
युरोपको सर्वोच्च शिखरका रूपमा रहेको माउन्ट एल्ब्रस दक्षिणी रुसको काउकासस पर्वतमालामा अवस्थित एक सुसुप्त ज्वालामुखी (डॉरमेंट भलक्यानाे) हो। समुद्र सतहदेखि ५,६४२ मिटर (१८,५१० फिट) को उचाइमा रहेको यो हिमाल विश्वका ‘सेभेन समिट्स’ मध्येको एक मानिन्छ। चोदेनको यस ऐतिहासिक उपलब्धिप्रति सिक्किमका विभिन्न सङ्घ-संस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।









