पर्यटकहरूका लागि २४ घण्टे हेल्पलाइन नम्बर ९८००२४२४२६ सञ्चालनमा
सिलगढी: सडक सुरक्षालाई सुदृढ बनाउन, ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन र आपत्कालीन अवस्थामा पर्यटकहरूलाई द्रुत सहायता उपलब्ध गराउने उद्देश्यले सिलिगुडी महानगरीय पुलिसको ट्राफिक विभागले आइतबारदेखि अत्याधुनिक ‘ट्राफिक मार्सल सेवा’ र २४सै घण्टा सञ्चालन हुने ‘पर्यटक हेल्पलाइन’ सुरु गरेको छ।
सहर र यस आसपासका क्षेत्रमा सवारी आवागमनलाई सहज बनाउन, सडक दुर्घटना न्यूनीकरण गर्न, प्रहरीको प्रतिक्रिया समय (रेस्पोन्स टाइम) घटाउन र पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको हो।

यस अभियान अन्तर्गत मल्लागुडीस्थित मैनाक टुरिस्ट लजमा आयोजित एक विशेष कार्यक्रमका बीच पाँचवटा ट्राफिक मार्सल मोटरसाइकलहरूलाई झन्डोत्तोलन गरी सेवामा रवाना गरियो। राज्यका पर्यटन मन्त्री डा. शङ्कर घोष, पुलिस आयुक्त सैयद वकार रजा र अन्य वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थितिमा ती मोटरसाइकलहरूको उद्घाटन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री शङ्कर घोषले सिलिगुडीमा बर्सेनि ठुलो सङ्ख्यामा पर्यटक आउने भएकाले उनीहरूको सुरक्षा र सुविधाका लागि विशेष संयन्त्रको आवश्यकता रहेको औँल्याए। नयाँ सुरु गरिएको २४ घण्टा उपलब्ध हुने हेल्पलाइनले आपत्कालीन अवस्थामा तत्काल प्रहरी सहयोग सुनिश्चित गर्ने उनले बताए। हेल्पलाइनमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित पुलिस चौकीलाई द्रुत कारबाहीका लागि जानकारी पठाइनेछ।
पुलिस आयुक्त सैयद वकार रजाले विभागले छिटो, आधुनिक र प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइरहेको बताए। ट्राफिक मार्सल सेवाले सडकको जामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्नुका साथै सडक दुर्घटनाका बेला छिटो उद्धार कार्य सञ्चालन गर्न सहयोग पुर्याउने उनको भनाइ थियो। यो हेल्पलाइनले यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूको सुरक्षालाई थप मजबुत बनाउने आयुक्त रजाले विश्वास व्यक्त गरे।










