पार्टीभन्दा जाति ठूलो भन्ने नाराको साथमा गोर्खाहरु एकबध्द हुनुपर्छ: अनित थापा

IMG-20260705-WA0063

खरसाङ: सुवास घिसिङको नारा ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो’ लाई लिएर अघि बढ्नुपर्छ। यस नारालाई लिएर गोर्खाहरु एकबध्द हुनुपर्छ। यही सठीक समय हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्।उनले खरसाङमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको आयोजनामा सम्पन्न युवा जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्।‌ युवा जनभेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अनित थापाले स्वर्गीय सुवास घिसिङले दिएका नारा ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो’ लाई उद्धृत गर्दै भने, यो नारा पहाडमा पुनः गुञ्जिनु आवश्यक छ भनी बताएका छन्। अनित थापाले अघि भने, ‘यो समय गोर्खा जातिको लागि अनुकूल छ। अहिले पनि भएन भने कहिले पनि हुँदैन। त्यसर्थ पार्टीभन्दा जाति ठूलो भन्ने कुरालाई ध्यानमा राखेर गोर्खाहरु एकबध्द भएर अघि बढ्नुपर्छ।’ उनले आफ्नो कुर्सी त्याग्ने निर्णयलाई वर्तमान समयको माग भएको उल्लेख गर्दै, “कुर्सी त आउँछ जान्छ; मैले त्याग गरेको होइन, यो समयको माग हो भनी बताएका छन्। थापाले आफ्नो सम्बोधनमा भने, ‘अहिले गोर्खाको स्थायी राजनीतिक समाधान सम्भव छ तर त्यसका लागि आन्तरिक एकतामा कमी भएको छ। “यो समय शक्ति प्रदर्शनको होइन, एक सूत्रमा बाँधिने समय हो।’
उनले युवाहरुलाई स्थानीय तहमा गएर जातीय एकीकरणका लागि जनतालाई बुझाउन सक्रिय हुन आग्रह गरे।
यस जनभेला कार्यक्रममा शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा सहमति जनाएको थियो। अनितले हिंसात्मक आन्दोलनलाई पूर्ण रूपमा अस्वीकार गर्दै भने, “हामी हिंसात्मक आन्दोलन अब मनमा पनि नराख्ने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको राजनीति जहिले पनि रचनात्मक हुनेछ। विध्वंसको राजनीति कहिले गर्ने छैनौँ।”
उक्त जनसभामा गोर्खा समुदायको लामोकालीन यात्रा र संघर्षलाई स्मरण गर्दै नयाँ रणनीति र सोच आवश्यक रहेकोमा जोड दिइयो। अनित थापाले अझ भने, ‘अबको यात्रा पहाडले, जातिले न्याय तथा उन्मुक्ति पाउने दिशातर्फ केन्द्रित हुनेछ र यसका लागि जोशभन्दा होशपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको छ। युवा शक्ति खरसाङ महकुमा समितिका महासचिव ब्रिगेन मिश्रले सभालाई सम्बोधन गर्दै वक्तव्य दिए, “हामीलाई यो समय विष उगाल्ने नेता होइन, विष पिउने नेता चाहिन्छ। टुक्रिनुको सट्टा जातीय एकीकरणतर्फ काम गर्ने समय आएको छ।” मिश्रले वर्तमान अवस्थामा एकताका पक्षमा रहेको र नेताहरुले जनहितलाई अघि राखेर काम गर्नुपर्ने बताए।
सभामा सहभागी नेताहरूले यसपालि बङ्गाल विधानसभामा उठेको गोर्खाल्यान्ड सम्बन्धी विषयलाई सकारात्मक संकेतको रूपमा लिइएको उल्लेख गरे तथा सबै तहका युवा र समुदायका सदस्यलाई एकतामा समेटेर अगाडि बढ्न आग्रह गरे। जनसभा समापनसँगै युवा संगठनले अगाडि बढ्ने रणनीति तयार पार्ने र स्थानिय तहमा जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।

About Author

Advertisement