दैनिक ज्याला ३०० देखि ४५० रुपैयाँसम्म कायम
पाक्योङ: सिक्किमको पाक्योङस्थित सामुदायिक भवनमा बिहीबार राज्यस्तरीय जन सम्मेलन आयोजना गरी ‘विकसित भारत ग्यारेन्टी फर रोजगार एण्ड आजीविका मिसन (ग्रामीण)’ अर्थात् भीबी-जी राम जी योजनाको औपचारिक सुरुवात गरिएको छ। भारतका केन्द्रीय ग्रामीण विकास र कृषि मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशको तिरुपति जिल्लाबाट देशव्यापी रूपमा सुरुवात गरेको यस योजनालाई सिक्किम सरकारको ग्रामीण विकास विभागले राज्यस्तरमा लागू गरेको हो।
नयाँ दिल्ली र आन्ध्र प्रदेशको राष्ट्रिय कार्यक्रमसँगै भिडियो कन्फरेन्समार्फत जोडिएको यस राज्यस्तरीय समारोहमा सिक्किमका शिक्षा तथा कानुन मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए। मन्त्री बस्नेतले मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ को परिकल्पनालाई साकार पार्न ग्रामीण विकास नै मूल आधार भएको बताए।
ग्रामीण विकास विभागका सचिव अनिलराज राईले योजनाबारे प्राविधिक प्रस्तुति दिँदै सन् २०२६ जुलाई १ (हिजो) देखि लागू भएको यस नयाँ ऐनले पुरानाे ‘मनरेगा’ योजनालाई पूर्ण रूपमा प्रतिस्थापन गरेको जानकारी दिए। यस नयाँ व्यवस्था अन्तर्गत अब ग्रामीण क्षेत्रका योग्य परिवारले वर्षमा १०० दिनको सट्टा १२५ दिनको रोजगारी ग्यारेन्टी पाउनेछन्। उत्तर-पूर्वी र हिमाली राज्यहरूको हकमा केन्द्र र राज्य सरकारबीच ९०:१० को अनुपातमा वित्तीय साझेदारी रहने यस योजना अन्तर्गत सिक्किमका सामान्य ग्राम पञ्चायत क्षेत्रका लागि दैनिक ज्याला ३०० रुपैयाँ र रैथाने हिमाली क्षेत्रहरू (नाथाङ, लाचुङ र लाचेन) का लागि दैनिक ४५० रुपैयाँ निर्धारण गरिएको सचिव राईले बताए। खेतीपातीको मुख्य सिजनमा भने कृषि कार्यलाई सघाउन यो मिसन बढीमा ६० दिनका लागि स्थगित रहने विशेष प्रावधान समेत यसमा छ।
कार्यक्रममा पाक्योङ जिल्लाकी जिल्ला उपाध्यक्ष प्रभा प्रधानले यस मिसनमा महिलाहरूको भूमिका केन्द्रीय रहने बताउँदै पञ्चायतहरूलाई विद्यालयका खेलमैदान निर्माण, पर्यटन प्रवर्द्धन र ग्रामीण पूर्वाधार विकासका योजनाहरू ग्राम सभा मार्फत प्राथमिकताका साथ अघि बढाउन आह्वान गरिन्।
मिसन निर्देशक छिरिङ ल्हादेन लाचुङ्पा र विभागका विशेष अधिकारी कृष्ण लेप्चाले सिक्किम सरकारले यस ऐतिहासिक मिसनका लागि वित्तीय, प्रशासनिक र डिजिटल प्रणाली (आर्टिफिसियल इन्टेलिजेन्स र रियल-टाइम ड्यासबोर्ड) सहितको सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए। कार्यक्रमको अवसरमा सिक्किम सरकारको असाधारण गजेट अधिसूचना समेत औपचारिक रूपमा विमोचन गरिएको थियो। सो अवसरमा विभिन्न स्वयं सहायता समूहका प्रदर्शनी स्टलहरू समेत राखिएका थिए।










