गुवाहाटी: असमलाई पूर्वी भारतकै प्रमुख हवाई र व्यापारिक केन्द्र (एभिएसन एण्ड ट्रेड हब) का रूपमा विकास गर्न ६ वटा नयाँ ‘ग्रीनफिल्ड’ विमानस्थल र एउटा हेलिपोर्ट निर्माण गरिने भएको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री किन्जारापु राममोहन नायडुसँगको फलदायी बैठकपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस वृहत् योजनाबारे आधिकारिक जानकारी गराएका हुन्।
नयाँ दिल्लीमा भएको सो उच्चस्तरीय बैठकमा असमको हवाई कनेक्टिभिटी र लजिस्टिक क्षेत्रको भविष्यको रूपरेखाबारे विस्तृत छलफल भएको थियो। मुख्यमन्त्री सरमाका अनुसार राज्यको सिल्चर, मानस, उमराङसो, माजुली, दिफु र चराईदेउमा ६ वटा अत्याधुनिक ग्रीनफिल्ड विमानस्थल तथा हाफलोङमा एक हेलिपोर्ट स्थापना गर्ने कार्यलाई तीव्रता दिइनेछ।
”सिल्चरको नयाँ विमानस्थल निर्माणका लागि अधिकांश प्रारम्भिक तयारीका कामहरू पूरा भइसकेका छन् र यो प्रक्रियालाई थप गति दिन मैले केन्द्रीय मन्त्रालयलाई अनुरोध गरेको छु,” मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमा लेखेका छन्, “यसका साथै अन्य प्रस्तावित विमानस्थलहरूको पूर्व-सम्भाव्यता अध्ययन (प्रि-फिजिबिलिटी स्टडी) लाई पनि थप गति दिने निर्णय भएको छ।”
बैठकमा असमको रुपसी विमानस्थलको विस्तार गर्ने र विश्वप्रसिद्ध विमान निर्माता कम्पनी ‘एयरबस’ को सहयोगमा असममा एउटा ठूलो उड्डयन केन्द्र (एभिएसन हब) स्थापना गर्ने योजनाको समेत समीक्षा गरिएको छ। मुख्यमन्त्री शर्माले असमको हवाई उड्डयन क्षेत्रका लागि यो समय नयाँ सम्भावनाको ढोका भएको बताउँदै सुदृढ हवाई सञ्जालले राज्यको आर्थिक विकास गर्नुका साथै यहाँका युवाहरूका लागि रोजगारी र प्रगतिका अनगिन्ती नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।











