ब्रह्मोस मिसाइल उत्पादनमा २० प्रतिशत वृद्धि, लखनऊ प्लान्टबाट पहिलो ब्याच तयार

500px-The_Brahmos_Missile_system_passes_through_the_Rajpath_during_the_full_dress_rehearsal_for_the_Republic_Day_Parade_in_New_Delhi_on_January_23,2006

​नयाँ दिल्ली:भारत र रुसको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा निर्मित शक्तिशाली ‘ब्रह्मोस’ सुपरसोनिक क्रुज मिसाइलको उत्पादन २० प्रतिशतले बढेको छ। उत्तर प्रदेशको लखनऊमा स्थापना गरिएको नयाँ अत्याधुनिक उत्पादन केन्द्र (प्लान्ट) सञ्चालनमा आएसँगै मिसाइल उत्पादनमा ठूलो सफलता मिलेको हो।
​लखनऊ प्लान्टले मिसाइलको पहिलो ब्याच निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको ब्रह्मोस एयरोस्पेसका सह–निर्देशक अलेक्ज्याण्डर माक्सिचेभले जानकारी दिएका छन्। यो नयाँ केन्द्र सञ्चालनमा आएसँगै भारतमा ब्रह्मोसको उत्पादन क्षमता र गति दुवैमा उल्लेख्य सुधार आएको छ। हाल भारतमा लखनऊसहित हैदराबाद, तिरुवनन्तपुरम र पिलानी गरी चारवटा उत्पादन केन्द्रहरू सञ्चालनमा छन्, जसमध्ये लखनऊ केन्द्र सबैभन्दा ठूलो बनेको छ।
​सन् १९९८ फेब्रुअरीमा भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) र रुसको एनपीओ मेशिनोस्ट्रोयेनियाबीचको साझेदारीमा ब्रह्मोस एयरोस्पेस स्थापना भएको थियो। भारतको ब्रह्मपुत्र र रुसको मोस्कवा नदीको नाम जोडेर यसको नाम ‘ब्रह्मोस’ राखिएको हो। आवाजभन्दा तीव्र गति (म्याक २.८) मा प्रहार गर्न सक्ने यो मिसाइललाई पनडुब्बी, युद्धपोत, विमान र जमिन गरी चारै ठाउँबाट प्रहार गर्न सकिन्छ।
​उत्पादन क्षमतामा भएको यो वृद्धिसँगै भारतले अब यसको निर्यातलाई थप तीव्र बनाउने देखिएको छ। हालै मात्र फिलिपिन्सले भारतसँग तटीय एन्टि–शिप ब्रह्मोस मिसाइल प्रणाली खरिद गरेको छ भने इन्डोनेसिया र भियतनाम जस्ता दक्षिण–पूर्वी एसियाली मुलुकहरूले पनि यो प्रविधि भित्र्याउन गहिरो चासो देखाएका छन्। भारत र रुसले हाल ८०० किलोमिटरसम्म मार हान्न सक्ने अत्याधुनिक क्षमताको ब्रह्मोस र अर्को पुस्ताको ‘ब्रह्मोस–२’ हाइपरसोनिक मिसाइल विकासमा समेत तीव्र गतिमा काम गरिरहेका छन्।

About Author

Advertisement