भारतीय सेनाका रूसी हतियारको जासुसी गर्न पाकिस्तानी वायुसेना प्रमुख बेलारुसाा

pakistan-air-force-chief-belarus

​मिन्स्क(बेलारूस): पाकिस्तानी वायुसेनाका प्रमुख (सीएएफ) जहीर अहमद बाबर सिद्धू बेलारुसको औपचारिक भ्रमणमा राजधानी मिन्स्क आइपुगेका छन्। हालैको सैन्य टकराव (अपरेशन सिन्दूर) मा भारतीय सेनाको रूसी निर्मित ‘एस-४०० एयर डिफेन्स सिस्टम’ र अत्याधुनिक ड्रोन प्रहारबाट ठूलो क्षति ब्यहोरेको पाकिस्तानले ब्याकडोर (पछाडिको ढोका) बाट रूसी हतियारको प्रविधि र कमजोरी पत्ता लगाउन यो भ्रमण गरेको रणनीतिक विश्लेषकहरूले दाबी गरेका छन्।
​बेलारुस रूसको सबैभन्दा भरपर्दो र निकटतम सहयोगी मुलुक हो, जससँग रूसी सैन्य प्रविधि र हतियारहरूको पूर्ण पहुँच छ। रूसले सिधै पाकिस्तानलाई अत्याधुनिक हतियार बिक्री नगर्ने नीति लिएका कारण पाकिस्तानले बेलारुसलाई माध्यम बनाएर रूसी सैन्य प्रविधि, ड्रोन, माइक्रो-इलेक्ट्रोनिक्स र भारी हतियार प्राप्त गर्ने रणनीति बुनेको छ।
​भ्रमणका क्रममा दुई देशबीच सैनिकहरूको तालिम, प्रविधि हस्तान्तरण (ट्रान्सफर अफ टेक्नोलोजी) र संयुक्त हतियार उत्पादनसहित सन् २०२५-२७ को रक्षा रोडम्यापमा उच्चस्तरीय सैन्य छलफल हुने बताइएको छ। पाकिस्तानले बेलारुसका पाइलटहरूलाई पूर्ण तालिम दिने प्रस्ताव समेत अघि सारेको छ। पाकिस्तानी रक्षा विशेषज्ञहरूले यस त्रिदेशीय (पाकिस्तान-बेलारुस-रूस) सामीप्यताले यूरेशियाली सुरक्षा समीकरणलाई नयाँ रूप दिने र पश्चिमा हतियारमाथिको निर्भरता घटाउने दाबी गरेका छन्।
​यद्यपि, भारतीय रक्षा विज्ञहरूका अनुसार पाकिस्तानको मुख्य उद्देश्य भारतसँग रहेका रूसी हतियारको प्रणाली बुझ्नु र तिनको काउन्टर रणनीति तयार गर्नु नै हो। भारतले अपरेशन सिन्दूरमा प्रदर्शन गरेको आक्रामक सैन्य क्षमता र रक्षा प्रणालीबाट तर्सिएको पाकिस्तानले बेलारुसलाई फकाएर आफ्नो सैन्य सन्तुलन सुधार्ने प्रयास गरिरहेको छ।

About Author

Advertisement