जोङ्गुमा पर्यावरण पर्व अन्तर्गत वृक्षारोपण, नवजात शिशुका नाममा मुद्दती बचत वितरण

FB_IMG_1783008677489

मङ्गन: सिक्किमको मङ्गन जिल्लाभरि सञ्चालित ‘पर्यावरण पर्व २०२६’ को दोस्रो दिन बिहीबार उत्तर जोङ्गुको पास्सिङदाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण संरक्षण र पर्यावरण चेतना जगाउने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा सिक्किम सरकारको महत्त्वकाङ्क्षी ‘सिक्किम शिशु समृद्धि योजना’ अन्तर्गतका सुविधाहरू समेत वितरण गरियो।
​वन तथा पर्यावरण मन्त्री एवं स्थानीय विधायक पिन्ट्सो नामग्याल लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्र परिसरमा सुन्तलाका बिरुवाहरू रोपिएका थिए। मन्त्री लेप्चाले जोङ्गुको हावापानी सुन्तला खेतीका लागि अनुकूल रहेकाले वातावरणीय सन्तुलनका साथै स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सुन्तलाका बिरुवा छनोट गरिएको बताए। आगामी साउन २९ (जुलाई १४) सम्म चल्ने यस पर्व अन्तर्गत साउन २२ (जुलाई ७) का दिन राज्यभर ‘ए डे फर मदर अर्थ’ (पृथ्वीका लागि एक दिन) मनाइने र त्यस दिन सांकेतिक रूपमा केही मिनेटका लागि सवारी साधनहरू ठप्प पारी पर्यावरण संरक्षणप्रति ऐक्यबद्धता जनाइने मन्त्री लेप्चाले जानकारी दिए।
​मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा सञ्चालित ‘मेरो रुख मेरो सन्तति’ अभियानलाई सामाजिक कल्याणसँग जोड्दै राज्य सरकारले ‘सिक्किम शिशु समृद्धि योजना’ कार्यान्वयनमा ल्याएको हो। यस योजना अन्तर्गत नवजात शिशुको नाममा १० हजार ८०० रुपैयाँको मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) गरिन्छ, जुन बच्चा १८ वर्ष पुगेपछि मात्र परिपक्व हुनेछ। तर, यो सुविधा पाउनका लागि अभिभावकले ‘मेरो रुख मेरो सन्तति’ अभियान अन्तर्गत अनिवार्य रूपमा १०८ वटा रुख रोपेको हुनुपर्ने प्रावधान छ। कार्यक्रममा १०८ वटा बिरुवा रोपेर प्रक्रिया पूरा गरेका योग्य लाभार्थीहरूलाई बैंक पासबुक र प्रमाणपत्रहरू हस्तान्तरण गरिएको थियो।
​कार्यक्रमको समापनमा मन्त्री लेप्चाले मङ्गन (प्रादेशिक) वन डिभिजनका लागि नयाँ वन गस्ती सवारी साधन (पेट्रोलिङ भेहिकल) को पनि उद्घाटन गरे। यस सवारी साधनले जिल्लामा वन क्षेत्रको सुरक्षा, निगरानी र संरक्षण गतिविधिहरूलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। कार्यक्रममा बागवानी विभागकी अध्यक्ष ओङ्कित लेप्चा, वन डिभिजन अधिकारी मन्जिल खरेल लगायत विभिन्न विभागीय अधिकारी तथा स्थानीय पञ्चायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement