गान्तोक: सिक्किमका मुख्यमन्त्रीले राष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट दिवस (नेशनल चार्टर्ड अकाउंटेंट डे) को अवसरमा सम्पूर्ण चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै देशको आर्थिक विकास र वित्तीय अनुशासन कायम राख्न चार्टर्ड एकाउन्टेन्टहरूले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको हो।
मुख्यमन्त्रीले सीएहरूलाई राष्ट्र निर्माणका ‘विश्वसनीय साझेदार’ को रूपमा चित्रण गर्दै भन्नुभयो:
”आजको विशेष दिनमा हामी वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन चार्टर्ड एकाउन्टेन्टहरूले खेल्नुभएको अमूल्य भूमिकाको सम्मान गर्दछौँ। उहाँहरूको विशेषज्ञता, इमानदारिता र प्रतिबद्धताले व्यवसाय, संस्थाहरू र समग्र राष्ट्रको उन्नतिमा ठुलो टेवा पुर्याएको छ।”
आफ्नो शुभकामना सन्देशमा उहाँले सीएहरूको निरन्तर सफलता र प्रगतिको कामना गर्दै आगामी दिनमा पनि एक बलियो, समृद्ध र पारदर्शी अर्थतन्त्र निर्माणमा उहाँहरूको सेवा र समर्पण कायमै रहने विश्वास व्यक्त गर्नुभएको छ।









