मेक्सिको सिटी: सह-आयोजक मेक्सिकोले आफ्नो फर्म जारी राख्दै फिफा वर्ल्ड कप २०२६-को अन्तिम १६ राउण्डमा प्रवेश गऱ्यो। बुधवार बिहान खेलिएको राउण्ड अफ ३२-को म्याचमा मेक्सिकोले इक्वाडोरलाई २-०-ले पराजित गऱ्यो। मेक्सिको सिटी स्टेडियममा खेलिएको म्याचमा पहिलो हाफमा दर्ता गरेको २ गोलले घरेलु टीमलाई जीत दिलायो। जूलियन क्विनोनेसले २२औं मिनटमा टीमलाई बढ़त दिलाए भने राउल जिमिनेजले ३१औं मिनटमा अझ एक गोलको साथ टीमको जीत सुनिश्चित गरे। यस जीतको साथ मेक्सिकोले ४० सालदेखि जारी वर्ल्ड कपको नक्आउट राउण्डमा जीतको खड़ेरी पनि समाप्त गऱ्यो। टीमले १९८६-पछि पहिलोपल्ट नक्आउट राउण्डमा जीत हासिल गऱ्यो। त्यस समय मेक्सिकोले नक्आउट राउण्डमा बुल्गेरियालाई २-०-ले पराजित गरेको थियो। संयोगले त्यो म्याच पनि मेक्सिको सिटी स्टेडियममै खेलिएको थियो अनि टीमका वर्तमान प्रशिक्षक जेवियर एगिरे त्यस समय टीमका मीडफिल्डर थिए। त्यसपछि १९९४, २००२, २००६, २०१०, २०१४, २०१८ र २०२२-को वर्ल्ड कपमा प्रत्येकपल्ट मेक्सिको नक्आउट राउण्डमा बाहिर भएको थियो। यसपाली टीमले घरेलु मैदानमा लामो प्रतीक्षाको अन्त गऱ्यो। प्री-क्वार्टर फाइनलमा मेक्सिकोको भिड़न्त ईंग्ल्याण्ड र डीआर कंगोबीच खेलिने म्याचको विजेतासँग हुनेछ।
मेक्सिको र इक्वाडोरबीच म्याच खराब मौसमले गर्दा १ घण्टा ढिलो गरी शुरु भयो। घरेलु दर्शकहरूका अपार समर्थनबीच मेक्सिकोले शुरुदेखि नै आक्रामक फूटबल खेल्यो। लगातार दबाउको फाइदा २२औं मिनटमा प्राप्त भयो, जब जूलियन क्विनोनेसले गोल गरी टीमलाई बढ़त दिलाए। त्यसको ठीक ९ मिनटपछि राउल जिमिनेजले टीमको निम्ति दोस्रो गोल गरी इक्वाडोरको मुश्किल बढ़ाए। यो गिमिनेजको फिफा वर्ल्ड कप २०२६-मा दोस्रो अनि मेक्सिकोको निम्ति ४७औं गोल हो। उनीभन्दा अघि केवल जेवियर `चिचिरातो’ हर्नाण्डेज रहेका छन्, जसले मेक्सिकोको निम्ति सर्वाधिक ५२ गोल गरेका छन्। दोस्रो हाफको खेलमा इक्वाडोरले गोलीमाथि अधिक नियन्त्रण राख्यो अनि पुनरागमन गर्ने प्रयास गऱ्यो तर मेक्सिकोको मजबूत रक्षापंक्ति अघि उनीहरूको कुनै शीप चलेन। यसरी सह-आयोजक टीमले पूरा टुर्नामेण्टमा लगातार चौथो म्याचमा क्लीन शीट राखेर अन्तिम १६-मा प्रवेश गऱ्यो। म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको पाँचौं मिनट)-मा मुख छोपेर विपक्षी खेलाड़ीसँग बहस गर्ने इक्वाडोरका डिफेण्डर पिएरो हिकापिएलाई रेड कार्ड देखाइयो। इक्वाडोरले पहिलोपल्ट २००६-मा फिफा वर्ल्ड कपको नक्आउट राउण्डमा स्थान बनाएको थियो अनि त्यस समय टीमले अन्तिम १६-मा जर्मनीविरुद्ध हारको सामना गर्नु परेको थियो। त्यसको २० सालपछि इक्वाडोरले फेरि नक्आउट राउण्डमा प्रवेश गरे पनि टीम खाली हात फर्किनु पऱ्यो।










