गान्तोक: सिक्किमका प्रख्यात वास्तुकार (आर्किटेक्ट), कलाकार एवं विशिष्ट सांस्कृतिक व्यक्तित्व किरण रसाइलीको असामयिक निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज मार्फत एक शोक सन्देश जारी गर्दै रसाइलीको निधनले सिक्किमको कला र संस्कृति क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
आफ्नो शोक सन्देशमा मुख्यमन्त्री गोले सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सिक्किमको वास्तुकला, कला, फोटोग्राफी र सांस्कृतिक सम्पदाको संरक्षण एवं संवर्द्धनमा स्व. किरण रसाइलीले पुर्याएको विशिष्ट योगदानको स्मरण गरेका छन्। उनले रसाइलीको रचनात्मकता, दूरदर्शिता र नयाँ पुस्ताका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने समर्पण भावले अनगन्ती मानिसहरूलाई प्रेरित गरेको उल्लेख गरे। स्व. रसाइलीको रचनात्मक कार्य र कलाप्रतिको निष्ठाले सिक्किमको इतिहासमा एउटा अमिट छाप (विरासत) छोडेर गएको मुख्यमन्त्रीले बताएका छन्।
मुख्यमन्त्री गोलेले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकाकुल परिवार, आफन्तजन र सम्पूर्ण कलाकार समुदायप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।










