कालेबुङ: कालेबुङको स्थानीय सेकेम सिलोआम मण्डलीको साप्ताहिक सेवा अवधिमा नै १७५औं पादरी गङ्गा जयन्तीको शुभोपलक्ष्यमा नेपाली जगतमा आज प्रायः सबैले चिनिसकेको बहुआयामिक पादरी गङ्गाको योगदानहरूलाई स्मरण गरिएको छ। मण्डलीकै सभापति एल्टर सि.टी. लेप्चाको अध्यक्षतामा सम्पन्न गरिएको यस समारोहमा उनले नै पादरीको लोकप्रिय लोकगीत ”प्रभु अर्जी सुनिलेऊ, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ“ भक्तिभावपूर्ण ढङ्गमा गाएका थिए। यसै अवधिमा प्रणामी स्कूलकी बालिका देउकित लेप्चाले लेखक डा. छत्र सुब्बा पावलद्वारा रचित अनि संगीतकार राम तिमोथी विष्टको धुनले सजिएको ”कति सुन्दर दिन आयो, गङ्गा तिमीलाई सम्झिने“ भन्ने गीतमा नृत्य प्रस्तुत गरिन्। ”पादरीलाई किन सम्झिने?“ भन्ने बारेमा पादरीबारे शोधकर्ता रेभ.डा. छत्र सुब्बा पावलद्वारा सारगर्भित सन्देश प्रस्तुत गरे जसमा पादरी एक क्रान्तिकारी र रचनात्मक ढंगमा सोच्ने व्यक्तित्व पनि थिए भनेर जोड़ दिएका थिए। यस कार्यक्रममा यसै मण्डलीका एल्डर तथा क्लुनी कलेजका प्राध्यापक मेहेरमान सुब्बा, उनको धर्मपत्नी साथै डा. ग्राहाम्स होम्स स्कूलका शिक्षिका अजिता सुब्बा लगायत होम्स वरिपरिका मानिसहरूको उपस्थिति थियो।










