संगठन सुदृढीकरणमा जोड
सिङ्ताम: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश समितिको मासिक राज्य कार्यकारिणी बैठक आइतबार सिङ्तामस्थित पार्टीको राज्य कार्यालयमा सम्पन्न भएको छ। भाजपा प्रदेश अध्यक्ष डीआर थापाको अध्यक्षतामा आयोजित उक्त महत्त्वपूर्ण बैठकमा राज्यभर पार्टीको संगठन विस्तार र सुदृढीकरणबारे विस्तृत समीक्षा गरिएको छ।
बैठकमा पार्टीका वरिष्ठ नेता एनके सुब्बा, भरत दुलाल, प्रदेश महासचिव अर्जुन राई, दिनेश चन्द्र नेपाल लगायत प्रदेश पदाधिकारीहरू, विभिन्न मोर्चाका अध्यक्षहरू, प्रकोष्ठ संयोजकहरू, जिल्ला अध्यक्षहरू तथा महासचिवहरूको बाक्लो उपस्थिति रहेको थियो।
भावी कार्ययोजना र प्रगति समीक्षा
बैठकको मुख्य उद्देश्य पार्टीको संगठनात्मक कार्यसम्पादनको समीक्षा गर्नुका साथै हाल जारी संगठन विस्तार अभियानको प्रगतिको मूल्याङ्कन गर्नु रहेको थियो। यसका साथै आगामी दिनमा राज्यभर सञ्चालन गरिने पार्टीका कार्यक्रम र गतिविधिबारे विस्तृत छलफल भएको थियो। बैठकमा विभिन्न मोर्चा तथा जिल्लाका अध्यक्षहरू, प्रकोष्ठ एवं कार्यक्रम संयोजकहरूले आ-आफ्नो क्षेत्रको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाबारे जानकारी गराएका थिए।

जनस्तरसम्म पुग्न अध्यक्ष थापाको आह्वान
बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले पार्टी पदाधिकारीहरूको समर्पण र सक्रियताको उच्च प्रशंसा गरे। उनले संगठनका सबै तह र निकायबीच सुदृढ़ समन्वय कायम राख्न आवश्यक रहेको कुरामा जोड दिए। अध्यक्ष थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई केन्द्र सरकारका जनकल्याणकारी योजनाहरू लिएर जनस्तरसम्म पुग्न, संगठनलाई अझ सशक्त बनाउन तथा सिक्किमभर पार्टीको आधार बलियो पार्न सामूहिक रूपमा अघि बढ्न आह्वान गरे।











