नयाँ दिल्ली: ‘अपरेशन सिन्दुर’ का क्रममा वीरगति प्राप्त गरेका ६ भारतीय सैनिकको नाम नयाँ दिल्लीस्थित ‘नेसनल वार मेमोरियल’ (राष्ट्रिय युद्ध स्मारक) मा अंकित गरिएपछि भारतमा राजनीतिक विवाद चर्किएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले रक्षा मन्त्री राजनाथ सिंहमाथि तथ्य लुकाएको र संसद्लाई भ्रममा पारेको आरोप लगाएको छ।
विपक्षको तीव्र आलोचनापछि रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रीको पुरानो वक्तव्यलाई गलत सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार २८ जुलाई २०२५ मा संसद्मा रक्षा मन्त्रीले दिएको अभिव्यक्तिलाई बंग्याएर प्रचार गर्न खोजिएको हो।
संसद्मा के भनेका थिए रक्षा मन्त्रीले?
गत वर्ष २८ जुलाई २०२५ मा लोकसभामा ‘अपरेशन सिन्दुर’ बारे भएको बहसमा रक्षा मन्त्री राजनाथ सिंहले विपक्षी दलहरूलाई लक्षित गर्दै जोड दिएर भनेका थिए, “यदि तपाईंहरूलाई प्रश्न सोध्नु नै छ भने यो सोध्नुहोस् कि के यस अपरेशनमा हाम्रा जाँबाज सैनिकहरूलाई कुनै क्षति पुगेको छ? यसको उत्तर हो— छैन।”
विपक्षको कडा आपत्ति
कांग्रेस प्रवक्ता पवन खेड़ाले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा रक्षा मन्त्रीको सोही भाषणको भिडियो क्लिप सेयर गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्। उनले पहलगाम हमलापछि पाकिस्तानविरुद्ध गरिएको सैन्य कारबाहीका क्रममा भएका क्षतिबारे संसद्लाई अँध्यारोमा राखिएको आरोप लगाए।
गत वर्ष २२ अप्रिलमा पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएको थियो। त्यसको जवाफमा मे २०२५ मा भारतीय सेनाले पाकिस्तानविरुद्ध चार दिन लामो सैन्य अभियान चलाएको थियो, जसलाई भारत सरकारले ‘अपरेशन सिन्दुर’ नाम दिएको थियो। हालै मात्र सरकारले यस अभियानमा ज्यान गुमाएका ६ सैनिकको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ।
वीरगति प्राप्त गर्ने ६ सैनिकहरू:
राष्ट्रिय युद्ध स्मारकको वेबसाइटमा समावेश ‘रोल अफ अनर’ अनुसार वीरगति प्राप्त गर्ने सैनिकहरूमा पाँच जना स्थल सेना र एक जना वायुसेनाका जवान छन्:
१. सूबेदार मेजर पवन कुमार (सेना मेडल)
२. राइफलम्यान सुनील कुमार (वीर चक्र)
३. लान्स नायक दिनेश कुमार (सेना मेडल)
४. एभी मूड मुरलीनाइक (अग्निवीर – सेना मेडल)
५. हवल्दार सुनील कुमार सिंह (सेना मेडल)
६. सार्जेन्ट सुरेन्द्र कुमार (वायु सेना मेडल)
रक्षा मन्त्रालयको बचाउ
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यस समय मिडिया र सामाजिक सञ्जालमा भारतीय वायुसेनाका पाइलटहरू मारिएको भन्दै भ्रामक दुष्प्रचार भइरहेको थियो, जसले जनताको मनोबल गिराउने काम गरेको थियो। रक्षा मन्त्रीको उक्त बयान सोही अफवाहको खण्डनका लागि लक्षित थियो। त्यसैले, उनको सम्पूर्ण भाषणलाई सही सन्दर्भमा बुझ्न आवश्यक छ।” सरकार आफ्ना वीर सैनिक र उनीहरूका परिवारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र उनीहरूको बलिदानको उच्च सम्मान गर्ने मन्त्रालयले जनाएको छ।











