फिलिपिन्समा फेरि शक्तिशाली भूकम्प, ६.७ म्याग्निच्युडको धक्काले सर्वसाधारण त्रसित

6c291691-a852-43a9-a434-0308091141b4

नयाँ दिल्ली: दक्षिणी फिलिपिन्समा शुक्रबार साँझ फेरि एउटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ६.७ म्याग्निच्युडको उक्त भूकम्पका कारण स्थानीय सर्वसाधारण त्रसित बनेका छन्।
​स्थानीय समय अनुसार शुक्रबार साँझ ७:४२ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु दक्षिणी टापु माइन्डानाओको सारङ्गानी सहरभन्दा करिब २१ किलोमिटर दक्षिण-पश्चिम समुद्री क्षेत्रमा रहेको थियो। भूकम्प जमिनको सतहबाट करिब ६५.७ किलोमिटर गहिराइमा मापन गरिएको यूएसजीएसले जनाएको छ ।
​भूकम्पलगत्तै हालसम्म कुनै सुनामीको चेतावनी भने जारी गरिएको छैन। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन भने कुनै मानवीय क्षतिको सूचना पनि प्राप्त भएको छैन । प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासनले क्षतिको मूल्याङ्कन गरिरहेको बताइएको छ।
​यसअघि यसै महिनाको सुरुवातमा फिलिपिन्समा आएको अर्को विनाशकारी भूकम्पमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको थियो भने माइन्डानाओका थुप्रै क्षेत्रमा ठुलो भौतिक क्षति पुगेको थियो।
उक्त विपत्तिबाट तङ्ग्रिन नपाउँदै फेरि अर्को शक्तिशाली धक्का आएपछि त्यस क्षेत्रमा त्रास बढेको छ।
​फिलिपिन्स भौगोलिक रूपमा प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले यहाँ टेक्टोनिक प्लेटहरूको निरन्तर हलचलका कारण भूकम्प र ज्वालामुखीको उच्च जोखिम रहँदै आएको छ।

About Author

Advertisement