असमको विकासमा मारवाडी समाजको योगदान अतुलनीय रहेको मुख्यमन्त्री सरमाको भनाइ
गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले असमको समग्र विकास, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा मारवाडी समाजले पुर्याएको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्नुभएको छ।
गुवाहाटीमा आयोजित श्री मारवाडी दातव्य औषधालय र मारवाडी अस्पतालको ११०औँ वर्षगाँठ तथा गौरवमय स्वास्थ्य सेवा यात्राको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले उक्त विचार व्यक्त गर्नुभएको हो।
समारोहमा मुख्य अतिथि, मुख्यमन्त्री सरमाले औषधालयको ११० वर्ष लामो गौरवशाली यात्राको स्मरण गर्दै असमको साहित्यिक, सांस्कृतिक, शैक्षिक र जनकल्याणकारी क्षेत्रमा मारवाडी समुदायले खेल्दै आएको भूमिका अतुलनीय रहेको बताउनुभयो।
दशकौँदेखिको अटुट सेवा
मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साट्दै भन्नुभयो, “असममा दशकौँदेखि बसोबास गर्दै आएको मारवाडी समाजले हाम्रो राज्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। व्यापार र वाणिज्यदेखि लिएर स्वास्थ्य सेवासम्म उहाँहरूको योगदान उल्लेखनीय छ।” उहाँले ११० वर्षको यस ऐतिहासिक यात्राको अवसरमा मारवाडी दातव्य औषधालय तथा मारवाडी अस्पताल परिवारका साथै सम्पूर्ण मारवाडी समुदायलाई हार्दिक बधाई एवं शुभकामना समेत ज्ञापन गर्नुभयो।
स्वास्थ्य सेवा र जनकल्याणमा अग्रणी
शताब्दीभन्दा पुरानो इतिहास बोकेको श्री मारवाडी दातव्य औषधालयले असम र समग्र उत्तर-पूर्वी क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
कार्यक्रममा उपस्थित वक्ताहरूले यस औषधालय र अस्पतालले व्यावसायिक लाभभन्दा माथि उठेर विशुद्ध सेवाको भावनाले काम गरिरहेको उल्लेख गरे।
उक्त विशेष समारोहमा मारवाडी समाजका प्रतिष्ठित व्यक्तित्वहरू, चिकित्सकहरू, समाजसेवीहरू र स्थानीय नागरिकहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो।











