दार्जिलिङ: जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो पददेखि राजीनामा दिएका छन्। उनले जीटीएको डेपुटी चेयरम्यान साथै सभासदको पदबाट पनि आफ्नो राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र जीटीएका मुख्य सचिवमार्फत जीटीए प्रमुखको नाम गरेर राजीनामा पत्र लेखेका छन्। विगत केही समय अघि जीटीएको प्रमुख कार्यपाल अनित थापाले जीटीए प्रमुखबाट राजीनामा दिएपछि जीटीएको सभासदहरुले पनि भटाभट राजीनामा दिन थालेका थिए। तर केही समय अघि जीटीएको २० जना निर्वाचित सभासदहरुले बीचमा बैठक गरेपछि अचानक चर्चा चुलिएर गएको थियो। ती २० जना सभासदहरुमा जीटीएको डेपुटी चेयरम्यान एंव रंगबुल धोतरिया रंगमुक समष्टिको सभासद राजेस चौहान पनि थिए।त्यसपछि जीटीएलाई लिएर चर्चा परिचर्चा गहिरिएर गएको थियो। यसै विषयपछि शुक्रवार जीटीएको डेपुटी चेयरम्यान एंव रंगबुल धोतरिया रंगमुक समष्टिको सभासद राजेस चौहानले पनि आफ्नो डेपुटी चेयरम्यान साथै सभासदको पदबाट पनि राजीनामा दिएका छन्। उनले दिएको राजीनामा पत्रमा भनेका छन्, ‘जीटीए गठनको दिनदेखि हालसम्मका सबै भ्रष्टाचार, आर्थिक अनियमिता, सार्वजनिक कोषको दुरुपयोग र अनियमितता विषयमा निष्पक्ष र समयबध्द जाँच होस्।’ उनले अझ भनेका छन् -‘जनताको आशा र अपेक्षा पूरा गर्न असफल भएको जीटीएलाई कानुनी प्रक्रिया अनुसार पश्चिम बंगाल सरकारले विघटन गरोस्। दार्जिलिङ, कालेबुङ, तराई र डुवर्सका जनताको दीर्घकालीन मागलाई सम्बोधन गर्न भारत सरकारले अनुच्छेद 3 अन्तर्गत गोर्खाल्याण्ड राज्य निर्माणका लागि उपयुक्त संवैधानिक कानूनी पहल गरियोस्।’
राजेस चौहानले पहिलेबाट नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिईसकेका थिए भने शुक्रबार डेपुटी चेयरम्यान र सभासद पदबाट पनि राजीनामा दिएका छन्।










