सोनादा: क्रामाकपाको श्रमिक संगठन दार्जीलिङ तराई डुर्वस चियाकमान मजदुर युनियनको तत्वधानमा १९५५ सालमा सरकारद्वारा गोली हानेर हत्या गरिएको छजना शहीद श्रमिकहरुको स्मरणमा ७२औं शहीद दिवस कमरेड एनबी प्रधानको अध्यक्षतामा सोनादामा बिहीवार आयोजना गरिएको छ।

२५ जून १९५५ सालमा रिङटाङ, मुण्डा, फूलबारी चियाबारीका श्रमिकवर्ग मारग्रेटहोप चियाबारीमा शान्तिपूर्ण रूपमा आफ्नो विभिन्न माग लिएर मालिकलाई अवगत गराउन आन्दोलन गरिरहेको समय त्यस समयका शासकले सरकारसित मिलेर अन्धाधुन्ध गोली प्रहार गरेर छ जना श्रमिकवर्गको हत्या गरिएको थियो। यसमा गर्भवती महिला कमरेड मौली शोभा राइनी, १४ वर्षे किशोर काले लिम्बु, अमृत माया कमिनी, जीतमान तामाङ, पदमबहादुर कामी र कान्छा सुनुवारलाई निर्मम प्रकारले हत्या गरी शहीद भएका थिए। दार्जीलिङ चियाबारीको श्रमिक इतिहासमा यो दिन स्मरणीय दिन रहेको छ। आफ्नो हक र अधिकारको निम्ति संघर्ष गर्ने श्रमिकवर्गको आन्दोलनलाई मालिकवर्गले दबाउने यो क्रुर अमानवीय ब्यवहार गरेको घटना चियाबारी श्रमिक आन्दोलनमा कालो इतिहास भएर लेखिएको छ। सङ्घर्ष गर्नेले नै इतिहास लेख्छन् तर जोखिम नउठाउनेले कहिले लेख्दैनन्। आजको दिनसम्म श्रमिकहरुको श्रमको मूल्य केवल २५० रुपियाँ मात्र छ, यो अति न्यून ज्याले कसरी जीवन धान्न सकिन्छ? यो गम्भीर विषय चिया उद्योगमा चिन्ताको बिषय भएको छ। न्यून ज्यालाले जीवन धान्न र बढ्दो महंगीको कारण श्रमिक वर्ग पलायन हुन बाध्य भएका तितो सत्य छ। पश्चिम बंगालमा भाजपाको नयाँ सरकार गठन पश्चात श्रमिक वर्गको रोजगारमा बृद्धि, जमीनको मालिकना हक र अन्य सहुलियत चाँडै प्राप्त हुने श्रमिकहरुले विश्वास गरेका छन्। जनसभालाई सम्बोधन गर्ने क्रममा श्रमिक नेता भूपेन छेत्री, महासचिव कमरेड सुनिल राई, क्रामाकपा उपाध्यक्ष कमरेड अर्जुन थापा, केन्द्रीय समितिका उपाध्यक्ष उपाध्यक्ष कमरौष आरपी पाख्रीन, क्रामाकपा महासचिव कम नर्बु लामा, संगठन प्रमुख शेखर छेत्री, क्रामाकपा सोनादा आञ्चलिक कमिटीका सचिव कमरेड उद्भव खनाल अनि क्रामाकपा कार्यकारिणी अध्यक्ष कमरेड बीएम राईले शहीदहरुलाई स्मरण गर्दै वक्तव्य राखेका छन्। यस श्रमिक दिवस क्रामाकपा सोनादा जोनल कमिटीको तत्वधानमा आयोजना गरिएको थियो। यस कार्यक्रममा श्रमिकहरूको बाक्लो उपस्थिति थियो अनि सभा दार्जिलिङ आञ्चलिक कमिटीका अध्यक्ष कमरेड कृष्णवीर राईले सञ्चान गरेका थिए।











