वार्षिक खेल तालिका अनुसार क्यारम अनि टेबल टेनिस प्रतियोगिता हुने
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको एक महत्वपूर्ण सभा आगामी दिनहरुमा खेलाइने इन्डोर खेलहरु बिषयलाई लिएर सम्पन्न भयो। यस सभाको अध्यक्षता संघकै अध्यक्ष मोहन योन्जनले गरेका थिए भने संचालन संघका सचिव निर्मल गुरुङले गरेका थिए। सभालाई सर्वप्रथम सचिव निर्मल गुरुङले सम्बोधन गर्दै प्रति वर्ष संघद्वारा खेलाइने इन्डोर खेलहरु, बिशेष गरि क्यारम अनि टेबल टेनिस प्रतियोगितालाई यो पाली कसरी अनि कुन प्रकारले खेलाउने पर्ने किनकी संघसित यी प्रतियोगिताहरु आयोजन गर्न पर्याप्त राशि नभएको जानकारी सदस्यहरु अघि राखे। चर्चा परिचर्चापछि सदस्यहरुले संघले प्रति वर्ष नै यी प्रतियोगिताहरुको आयोजना गर्दै आइरहेकोले यो वर्ष पनि अवश्य खेलाउने भनी बताए साथै यदि आवश्यकता परे प्रत्येक सदस्यले आफुहरुबाट भए पनि सक्दो आर्थिक मद्दत गर्ने भनी बताए। त्यसपछि सचिव निर्मल गुरुङले संख्या बलको आधारमा यी दुइ इन्डोर खेलहरु क्रमश: क्यारम अनि टेबल टेनिस प्रतियोगिता खेलाउने निर्णय लिएको जानकारी सभामा राखे। प्रथममा आगामी ५ जुलाईको दिन क्यारम प्रतियोगिता गराइने र यस प्रतियोगीतामा भाग लिने इच्छुक प्रतिभागीहरुले आगामी २ जुलाईसम्म आ आफ्नो नाम पंजीकृत गर्नु पर्ने रहेको छ। यस क्यारम प्रतियोगिता यस वर्ष केवल एकल वर्गमा मात्र गरिने अनि यसका विजेता, उप बिजेताको साथ तेस्रो अनि चौथो स्थानमा रहने प्रतियोगिहरुलाई आकर्षक ट्रफीको साथमा नगद पुरष्कार पनि दिने तय भएको जानकारी संघको तर्फबाट संघका उपाध्यक्ष फुर्बा घिसिङले दिएका छन्।










