नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आइतवार ईंग्ल्याण्डविरुद्ध खेलिने ३ वटा वनडे म्याचको सीरीजको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। शुभमन गिलको कप्तानीमा रहने यस टीममा विराट कोहली पनि रहनेछन् तर उनको उपलब्धता फिटनेसमाथि निर्भर गर्नेछ। यसबीच अफगानिस्तानविरुद्ध तेस्रो वनडे म्याचमा अविजित शतक बनाउने यशस्वी जयसवालले चाहिँ फेरि मौका पाएनन्। भारत र ईंग्ल्याण्डबीच वनडे सीरीजको पहिलो म्याच १४ जुलाईमा एजबेस्टनमा खेलिनेछ। त्यसपछि रहल २ वटा म्याच क्रमशः १६ र १९ जुलाईमा हुनेछ। वनडे सीरीज समाप्त भएपछि यी दुई टीमबीच ५ वटा टी२० म्याचको सीरीज खेलिनेछ, जसको निम्ति श्रेयस अय्यरको कप्तानीमा टीमको घोषणा अगावै गरिएको छ। वनडे सीरीजको पहिलो र अन्तिम म्याच भारतीय समयानुसार दिउँसो ३ः३० बजीदेखि शुरु हुनेछ। यसरी दोस्रो म्याच साँझ ५ः३० बजीदेखि खेलिनेछ। वनडे सीरीजको निम्ति टीममा सामेल कोहलीको २२ जूनमा बीसीसीआई-को सेण्टर अफ एक्सीलेन्समा फिटनेस टेस्ट हुनेछ। आईपीएल २०२६ च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेल्दै कोहलीले फाइनलमा अविजित ७५ रनको म्याच जिताउने ईनिंग्स खेलेका थिए अनि त्यही म्याचमा उनलाई चोट लागेको थियो। यस चोटले गर्दा नै उनी अफगानिस्तानविरुद्ध वनडे सीरीजबाट पनि बाहिर रहेका थिए। कोहलीलाई सशर्त टीममा सामेल गरिएको छ भने अलराउण्डर हार्दिक पाण्ड्याले चाहिँ मौका पाएनन्। चोटमुक्त भएर हार्दिकले अभ्यास शुरु गरे पनि उनी वनडे प्रारूपको निम्ति सम्पूर्ण रूपले फिट छैनन्। हार्दिकको अनुपस्थितिमा नितिश रेड्डीले फेरि मौका पाएका छन्। भारतीय टीममा अनुभवी पेस बलर जसप्रीत बुमराहलाई स्थान दिइएको छ। यसैकारण प्रिन्स यादव टीमबाट बाहिर भएका छन्। पेस बलरहरूमा बुमराहको साथमा गुरनुर बरार, हर्षित राणा, प्रसिद्ध कृष्णा र अर्शदीप सिंह टीममा रहेका छन्। चयनकर्ताहरूले टीममा ५ जना पेस बलरको साथमा ३ जना स्पिनर राखेका छन्। यसबीच रविन्द्र जडेजा फेरि एकपल्ट टीममा स्थान बनाउनदेखि चुकेका छन्। स्पिन आक्रमणको जिम्मेवारी अक्षर पटेल, कुलदीप यादव र वाशिंगटन सुन्दरमाथि रहनेछ। यसरी विकेटकीपरको रूपमा केएल राहुल र ईशान किशन दुवै रहेका छन्। यसबीच आयरल्याण्डविरुद्ध टी२० सीरीजको निम्ति चयन गरिएको टीममा एउटा बद्लाउ गरिएको छ। स्पिनर वरुण चक्रवर्ती चोटको शिकार भएको हुनाले उनको स्थानमा प्रिन्स यादवलाई टीममा सामेल गरिएको छ।
ईंग्ल्याण्डविरुद्ध वनडे सीरीजको निम्ति भारतीय टीम यसप्रकार छः
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली (सशर्त), श्रेयस अय्यर (उपकप्तान), केएल राहुल (विकेटकीपर), ईशान किशन (विकेटकीपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, नीतीश रेड्डी, कुलदीप यादव, जसप्रीत बुमराह, प्रसिद्ध कृष्णा, हर्षित राणा, अर्शदीप सिंह र गुरनूर बरार।








