पाक्योंग: पाक्योंगकी जिल्ला कलेक्टर श्रीमती परी बिश्नोईको विशेष पहल तथा सारथी सङ्गठनको समन्वयमा आज याकतेन जीपीके हलमा ‘नशा मुक्त भारत अभियान’ अन्तर्गत एक महत्त्वपूर्ण जागरूकता कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको मुख्य उद्देश्य नवनिर्वाचित नगरपालिका काउन्सिलरहरू, फर्मासिस्टहरू, मदिरा पसलका सञ्चालकहरू, वार्ड प्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू र स्थानीय युवाहरूमाझ दुर्व्यसनमुक्त र आत्महत्यामुक्त समुदायको प्रवर्द्धन गर्नु थियो। उक्त विशेष कार्यक्रममा पाक्योंग नगरपालिका परिषद्का अध्यक्ष श्री एन्चुङ भोटिया मुख्य अतिथिका रूपमा र माननीय मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव श्री विशाल शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका विभिन्न चेतनामूलक सत्रहरूमा विशेषज्ञहरूले महत्वपूर्ण विषयमा प्रकाश पारेका थिए। यस अन्तर्गत सारथी १.० की मुख्य संयोजक श्रीमती अश्मिता तामाङले मोबाइलको लत र पाक्योंग प्राथमिक स्वास्थ्य केन्द्रका डा. नितेश भुसालले मानसिक स्वास्थ्य जागरूकताका विषयमा जानकारी गराउनुभयो। त्यसैगरी पाक्योंग प्रहरी चौकीका थाना प्रभारी (एसएचओ) श्री प्रदीप क्षेत्रीले लागूऔषध दुर्व्यसनका कानुनी पक्षहरूका बारेमा बुझाउनुभएको थियो भने द समैरिटन रिह्याबिलिटेसन सेन्टरका निर्देशक श्री एन्ड्र्यू सयाङ्बोले पुनर्वास सम्बन्धी आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो। समग्रमा यस कार्यक्रमले एक स्वस्थ, सुरक्षित र लागूपदार्थमुक्त समाज निर्माणका लागि रोकथाम, जनचेतना र पुनर्वासलाई सबैभन्दा आवश्यक कदमका रूपमा जोड दिएको छ।










