गान्तोकमा ‘योगा फर हेल्दी एजिङ’ नाराका साथ १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

FB_IMG_1782053238303

गान्तोक: सिक्किम सरकारको आयुष विभागद्वारा आइतबार गान्तोकस्थित स्वर्ण जयन्ती मैत्री मञ्जरी (रिज पार्क) मा १२औँ अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई) २०२६ भव्य रूपमा मनाइएको छ। योग अभ्यासकर्ता, विद्यार्थी, सरकारी अधिकारी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको उक्त समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए।
​समारोहमा सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नोर्बु शेर्पा र आयुष तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलको विशिष्ट उपस्थिति थियो। त्यस्तै, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, मुख्य सचिव आर तेलङ, प्रहरी महानिर्देशक अक्षय सचदेवा, गान्तोक नगर निगमका मेयर तथा उपमेयर लगायत विभिन्न विभागका प्रमुखहरू, आईटीबीपी, एसएसबी र सिक्किम प्रहरीका जवानहरूको समेत ठूलो संख्यामा सहभागिता रहेको थियो।
​समारोहलाई सम्बोधन गर्दै राज्यपाल ओम प्रकाश माथुरले यस वर्षको नारा ‘योगा फर हेल्दी एजिङ’ (स्वस्थ बुढ्यौलीका लागि योग) को सान्दर्भिकतामाथि प्रकाश पारे। उनले योग जीवनको हरेक चरणका लागि उपयोगी भएको चर्चा गर्दै यसले बालबालिकामा एकाग्रता बढाउन, युवाहरूलाई तनाव व्यवस्थापन गर्न र ज्येष्ठ नागरिकहरूलाई सक्रिय एवं स्वस्थ जीवन जिउन मद्दत पुर्‍याउने बताए।
​योगलाई मानवताका लागि भारतको अमूल्य उपहार भन्दै राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शिताका कारण आज यो प्राचीन अभ्यासले विश्वव्यापी रूपमा मान्यता पाएको उल्लेख गरे। हालै सम्पन्न राष्ट्रव्यापी अनलाइन योग सत्रमा ४ लाखभन्दा बढी मानिस सहभागी भई गिनिज वर्ल्ड रेकर्ड्समा नाम दर्ता गराउन सफल भएकोमा सिक्किमका जनताको उत्साहजनक सहभागिताको उनले प्रशंसा गरे।
​”स्वस्थ जनसंख्या नै बलियो र विकसित राष्ट्रको आधार हो,” ‘विकसित भारत २०४७’ को दृष्टिकोणलाई स्मरण गर्दै राज्यपाल माथुरले भने, “सिक्किमको प्राकृतिक वातावरण योग, ध्यान र आध्यात्मिक स्वास्थ्यका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना छ।”
​कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा आयुष मन्त्री जीटी ढुङ्गेलले हालै आयोजित १४ दिने हाइब्रिड योग कार्यक्रममा सिक्किमले देखाएको सक्रियताको प्रशंसा गरे। उक्त अभियानमा सिक्किमबाट १ लाख ५५ हजार ६ सय २३ जनाले दर्ता गराएका थिए, जुन राज्यको कुल जनसंख्याको झन्डै २६ प्रतिशत हो। जनसंख्याको अनुपातमा सहभागिताका आधारमा सिक्किम देशकै सर्वोत्कृष्ट र कुल दर्ता संख्यामा दोस्रो स्थानमा पर्न सफल भएको छ।
​मन्त्री ढुङ्गेलले मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को निरन्तर प्रोत्साहनका कारण यो उपलब्धि सम्भव भएको भन्दै सम्पूर्ण सरकारी विभाग, शैक्षिक संस्था र नागरिकहरूलाई धन्यवाद दिए। उनले यो योग अभियानलाई आगामी जुलाई ५ सम्म थपिएको जानकारी दिँदै योगलाई जीवनशैलीकै रूपमा अपनाउन आह्वान गरे।
​यसअघि आयुष सचिव सुचित्रा रसाइलीले स्वागत मन्तव्य राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको शुभकामना सन्देश वाचन गरेकी थिइन्।
​विशेष घोषणा तथा पुरस्कार वितरण:
​भिडियो सार्वजनिक: सो अवसरमा राज्यपालद्वारा ‘अफिस वेलनेस’ र ‘क्यान्सर वेलनेस’ योग प्रोटोकल सम्बन्धी निर्देशित योग भिडियो विमोचन गरियो।
​’हर घर योग’ पुरस्कार वितरण: अभियानमा सर्वाधिक सहभागिता जनाउने विद्यालयहरूलाई नगद पुरस्कार प्रदान गरियो:
​जुनियर हाई स्कुल विधा: सरकारी माध्यमिक विद्यालय (रेनोक बजार, पाकिम जिल्ला) – ₹२०,०००
​माध्यमिक विद्यालय विधा: पीएम श्री सरकारी माध्यमिक विद्यालय (रालाप, गान्तोक जिल्ला) – ₹३०,०००
​सिनियर सेकेन्डरी विद्यालय विधा: पीएम श्री सरकारी सिनियर सेकेन्डरी विद्यालय (रेनोक, पाकिम जिल्ला) – ₹५०,०००
​औपचारिक कार्यक्रमपश्चात डा. सुमिरन तामाङ, डा. कुन्जाङ येजिर भुटिया र डा. योङकेन्ट लेप्चाको निर्देशनमा सामूहिक योग अभ्यास गरिएको थियो । कार्यक्रमको समापन राष्ट्रिय आयुष मिसनका प्रिन्सिपल डाइरेक्टर–कम–मिसन डाइरेक्टर डा. गनिता थापाको धन्यवाद ज्ञापनसँगै भएको थियो।

About Author

Advertisement