मङ्गन: महामहिम क्याब्जे डोड्रुपचेन रिन्पोछेको १०० औँ जन्मोत्सव आइतबार सिक्किमको मङ्गन जिल्लास्थित मलिङ न्येसोङ कुन्ड्रोल मनि ल्हाखाङमा श्रद्धा र भक्तिका साथ मनाइएको छ। मलिङ न्येसोङ कुन्ड्रोल मनि ल्हाखाङ समितिको आयोजनामा भएको उक्त विशेष समारोहमा राज्यका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, बौद्ध भिक्षु, भक्तजन तथा स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिति थियो ।समारोहमा राजकुमार पाल्देन ग्युर्मेद् नामग्याल मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा, मङ्गन जिल्ला उपाध्यक्ष सोनाम किपा भुटिया, एसडीएम मङ्गन सन्दीप कुमार, ओएसडी लाचेन मङ्गन छिरिङ वाङ्गेल भुटिया लगायत अन्य विशिष्ट अधिकारीहरूको सहभागिता रहेको थियो ।क्याब्जे डोड्रुपचेन रिन्पोछेको जीवनी, उहाँका उपदेश र आध्यात्मिक योगदानको स्मरण गर्दै सुरु भएको कार्यक्रममा मलिङ मनि ल्हाखाङको ऐतिहासिक तथा धार्मिक महत्त्वमाथि प्रकाश पारिएको थियो ।समितिका सदस्य कर्मा भुटियाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ‘मनि आम मेन्लोम’ पाठ र ‘जेछु’ अनुष्ठानका साथै केक काटिएको थियो। सो अवसरमा मङ्गन सिनियर सेकेन्डरी स्कुल र एनएसएका विद्यार्थीहरूले भुटिया, लेप्चा र नेपाली भाषामा सिक्किमको राज्य गीत प्रस्तुत गरेका थिए ।कार्यक्रममा खेन्ट्रुल रिन्पोछेले भुटिया भाषामा यस शुभ अवसरको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई कर्मा भुटियाले नेपालीमा अनुवाद गरी सुनाएका थिए। सोही अवसरमा मनि ल्हाखाङको विकास र संरक्षणमा उल्लेख्य योगदान पुर्याउने महानुभावहरूलाई सम्मान समेत गरिएको थियो ।मुख्य अतिथिको आसनबाट बोल्दै राजकुमार पाल्देन ग्युर्मेद् नामग्यालले सिक्किमको समृद्ध आध्यात्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले क्याब्जे डोड्रुपचेन रिन्पोछेको गम्भीर शिक्षाको स्मरण गर्दै सिक्किमको सांस्कृतिक सद्भाव र सम्पदा बचाउन मलिङ र मङ्गनका जनताले गरेको प्रयासको सराहना गरे।त्यस्तै, ओएसडी छिरिङ वाङ्गेल भुटिया र एसडीएम सन्दीप कुमारले यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले युवा पुस्तालाई आफ्नो परम्परा र संस्कृतिबारे सचेत गराउनुका साथै बौद्ध दर्शन र करुणाको मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।कार्यक्रमको समापन उत्तर सिक्किम एकेडेमीका निर्देशक फुुन्चोक नामग्याल काजीको धन्यवाद ज्ञापनसँगै भएको थियो । शताब्दी जन्मोत्सवको समापनपछि उपस्थित सम्पूर्ण भक्तजन तथा अतिथिहरूका लागि सामूहिक भोज (भण्डारा) को समेत व्यवस्था गरिएको थियो।









