ललितपुर: वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आइतबार जावलाखेलमा भव्य रूपमा सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटिटोलबाट जावलाखेल पुर्याइएको चौथो दिन राष्ट्रप्रमुखको उपस्थितिमा यो परम्परागत जात्रा मनाइएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जावलाखेल पुगेर ऐतिहासिक एवं बहुमूल्य रत्नजडित भोटोको अवलोकन गर्नुभयो। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, संवैधानिक निकायका प्रमुखहरू तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। जात्राका अवसरमा जीवित देवी कुमारीले राष्ट्रपति पौडेलसहितका विशिष्ट अतिथिहरूलाई टीका र प्रसाद प्रदान गर्नुभएको थियो।
लिच्छविकालदेखि नै निरन्तर मनाइँदै आएको विश्वास गरिने यस जात्राको विशिष्ट सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको छ। बहुमूल्य हिरा, जवाहरत र माणिक जडित उक्त पवित्र भोटो गुठी संस्थानका अधिकारीहरूले रथको चारै दिशाबाट सर्वसाधारणलाई देखाएका थिए। वर्षमा एकपटक प्रदर्शन गरिने उक्त भोटो हेर्न जावलाखेलमा सर्वसाधारणको ठूलो घुइँचो लागेको थियो। भोटो प्रदर्शनसँगै काठमाडौँ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्षका लागि औपचारिक रूपमा समापन भएको छ।










