जेलेन्स्कीद्वारा पोल्यान्डको सर्वोच्च नागरिक सम्मान फिर्ता

3a650b90-6cbf-11f1-9fea-e751269afdb9.jpg

वारसा: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’ फिर्ता गरिदिएका छन्। पोल्यान्डका राष्ट्रपति क्यारोल नावरोकीले उक्त सम्मान वापस लिने घोषणा गरेलगत्तै जेलेन्स्कीले शनिबार यस्तो कदम चालेका हुन्।
​दोस्रो विश्वयुद्धकालीन एक नरसंहारको घटनालाई लिएर दुई देशबीच उत्पन्न ताजा विवादका कारण राष्ट्रपति जेलेन्स्कीबाट यो सम्मान फिर्ता लिने निर्णय पोल्यान्डले गरेको हो। विवादको मुख्य कारण जेलेन्स्कीले युक्रेनी सेनाको एक विशेष एकाइ (युनिट) को नामकरण दोस्रो विश्वयुद्धका बेला पोल्यान्डमा आम नरसंहार मच्चाउने एक अर्धसैनिक बलको नाममा राख्नु रहेको बताइएको छ।
​सेनाको विशेष दस्ताको नाम परिवर्तन गरेपछि विवाद
राष्ट्रपति जेलेन्स्कीले गत २६ मेका दिन युक्रेनको ‘स्पेशल अपरेसन फोर्स’ को नाम परिवर्तन गरी ‘युक्रेनियन इन्सर्जेन्ट आर्मी’ राख्ने निर्णय गरेका थिए। यो त्यही सैन्य दस्ता हो, जसले दोस्रो विश्वयुद्धको समयमा पोल्यान्डमा ठुलो सङ्ख्यामा सर्वसाधारणको हत्या गरेको इतिहास छ। पोल्यान्डले यस निर्णयप्रति कडा आपत्ति जनाउँदै सम्मान फिर्ता लिने प्रक्रिया अघि बढाएको थियो।
​सन् २०२३ मा दिइएको थियो सम्मान
यसअघि सन् २०२३ मा पोल्यान्डका तत्कालीन राष्ट्रपति आन्द्रेज डुडाले मानव अधिकारको रक्षा र साहसिक नेतृत्वको कदर गर्दै जेलेन्स्कीलाई देशको यो सर्वोच्च नागरिक सम्मान प्रदान गरेका थिए। विगत ४ वर्षदेखि रुससँगको भीषण युद्धमा फसेको र लाखौँ युक्रेनी नागरिकहरूले छिमेकी देश पोल्यान्डमा शरण लिइरहेको संवेदनशील समयमा दुई देशबीच यो ऐतिहासिक विवाद सतहमा आएको हो।

About Author

Advertisement