‘पङ्खुडी पोर्टल’ को शुभारम्भ
सोरेङ: महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग, सोरेङ जिल्लाको आयोजनामा सञ्चालित पाँचदिने ‘पोषण भी पढाई भी’ (पीबीपीबी) प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आँगनबाडी कार्यकर्ताहरूलाई प्रारम्भिक बाल्यकालको हेरचाह, शिक्षा र पोषणका क्षेत्रमा थप दक्ष बनाउने उद्देश्यका साथ गत जून १५ देखि १९ तारिखसम्म उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।
विभागकी उप-निर्देशक एवं सीडीपीओ श्रीमती गौरी तामाङको विशेष मार्गनिर्देशनमा आयोजित कार्यक्रमको पहिलो दिन सहभागीहरूको दर्ता तथा पूर्व-मूल्याङ्कन परीक्षा (प्रि-टेस्ट) लिइएको थियो। उद्घाटन सत्रमा जिल्ला संयोजक श्रीमती कुन्ता क्षेत्रीले कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नुभएको थियो भने उप-निर्देशक तामाङले सहभागीहरूलाई प्रोत्साहित गर्दै अन्तरक्रियात्मक गतिविधि र समूह छलफलका माध्यमबाट यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
प्रशिक्षणको दोस्रो दिन जून १६ मा उप-निर्देशक तामाङले आँगनबाडी कार्यकर्ताहरूको कार्यगत जिम्मेवारी र बिदा सम्बन्धी नियमहरूबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै, जून १७ मा सुपरभाइजरहरू क्रमशः श्रीमती ललिता गुरुङ, श्रीमती दिकमाया क्षेत्री, श्रीमती सरस्वती प्रधान, श्रीमती चन्द्रकला लुकसोम, श्रीमती मञ्जु गुरुङ र श्रीमती बिना शर्माले ‘बुनियादी सिकाइ’ (फाउन्डेसनल लर्निङ) र ‘नवचेतना’ सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सोही दिन पोषण निरीक्षकले पोषण सम्बन्धी प्राविधिक जानकारी दिनुभएको थियो भने श्रीमती कुन्ता क्षेत्री र श्रीमती प्रियंका शर्माले व्यावहारिक अभ्यास गराउनुभएको थियो।
कार्यक्रमको चौथो दिन जून १८ मा सीडीपीओ श्रीमती गौरी तामाङले आधिकारिक रूपमा ‘पङ्खुडी पोर्टल’ को शुभारम्भ गर्नुभयो। उक्त अवसरमा राज्य संयोजक श्री लकपा ओङ्दी तामाङले ‘पोषण ट्र्याकर’ सम्बन्धी प्राविधिक सत्र सञ्चालन गर्नुभएको थियो भने पीबीपीबीका राज्य संयोजक श्री साङ्गे छिरिङ भोटियाले अभियानको सफल कार्यान्वयनका लागि विशेष अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो।

समापनको दिन जून १९ मा आमन्त्रित स्रोत व्यक्ति (रिसोर्स पर्सन) ले राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० का विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। सोही दिन बालबालिकाहरूको शारीरिक विकासको लेखाजोखा गर्न ‘ग्रोथ मनिटरिङ’ (विकास अनुगमन) सम्बन्धी व्यावहारिक अभ्यास पनि गराइएको थियो। सोरेङ जिल्लाका आँगनबाडी कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको उक्त प्रशिक्षणले उनीहरूलाई व्यावहारिक सीप र आवश्यक ज्ञान प्रदान गरेको विभागले जनाएको छ।










