ग्याल्सिङ: ‘नशामुक्त भारत अभियान’ अन्तर्गत सञ्चालन भइरहेको ‘नशामुक्त सप्ताह २०२६’ को अवसरमा ग्याल्सिङ जिल्लाभर लागूऔषध विरुद्ध सामूहिक शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। लागूऔषध मुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता नवीकरण गर्ने उद्देश्यका साथ सामाजिक कल्याण विभागको पहलमा यो अभियान चलाइएको हो।
अभियान अन्तर्गत गत जून १८ तारिखका दिन ग्याल्सिङस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा जिल्लापाल श्री तेन्जिङ डी. देन्जोङ्पाले सरकारी अधिकारी तथा कर्मचारीहरूलाई लागूऔषध विरुद्धको शपथ गराउनुभएको थियो। उक्त अवसरमा उपस्थित सम्पूर्ण अधिकारीहरूले दुर्व्यसन विरुद्धको राष्ट्रिय अभियानमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसै अभियानलाई निरन्तरता दिँदै आज (१९ जून) जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संस्थाहरूमा पनि शपथ ग्रहण कार्यक्रम आयोजना गरियो। ग्याल्सिङ जिल्ला अन्तर्गत पर्ने युक्सोम र देन्ताम महकुमा (सब-डिभिजन) का साथै विभिन्न ब्लक प्रशासनिक केन्द्र (बीएसी) र अन्य सरकारी प्रतिष्ठानहरूमा पनि विस्तृत रूपमा यो कार्यक्रम सञ्चालन गरी व्यापक जनसहभागिता सुनिश्चित गरिएको छ।
लागूऔषध दुर्व्यसन विरुद्ध लड्न र एक स्वस्थ, जिम्मेवार एवं सभ्य समाजको प्रवर्द्धन गर्न जिल्लाका अधिकारी तथा कर्मचारीहरूले देखाएको यो सक्रियताले जिल्लाको सामूहिक सङ्कल्पलाई उजागर गरेको विभागले जनाएको छ।
”नशामुक्त भारत अभियान, विकसित भारतकी पहिचान” भन्ने मूल नाराका साथ सञ्चालित यो देशव्यापी अभियानले व्यक्ति र संस्थाहरूलाई लागूऔषध दुरुपयोग विरुद्ध उभिन र एक सुरक्षित एवं स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन प्रेरित गर्ने उद्देश्य राखेको छ।









