मोदी सरकारको १२ वर्ष पुगेको उपलक्ष्यमा सर्वसाधारणलाई सरकारी योजनाहरूको फाइदा दिइने
गान्तोक: केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले १२ वर्ष पूरा गरेको उपलक्ष्यमा देशव्यापी उत्सव मनाउने क्रममा भाजपा सिक्किमले राज्य सरकार र सम्बन्धित सरोकारवालाहरूसँग मिलेर भोलि शुक्रबार गान्तोकको एमजी मार्गमा एउटा वृहत् ‘जनकल्याण शिविर’ आयोजना गर्न गइरहेको छ। भोलि बिहान १० बजेदेखि सुरु हुने यस शिविरको मुख्य उद्देश्य भारत सरकारका प्रमुख जनहितकारी योजनाहरू सर्वसाधारणको सहज पहुँचमा पुर्याउनु रहेको छ, जसले गर्दा योग्य लाभार्थीहरूले सिधै फाइदा पाउन सक्नेछन्। शिविरमा विशेष गरी ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकहरू तथा अन्त्योदय अन्न योजना (एएवाई) रासन कार्ड भएका योग्य परिवारहरूका लागि आधार कार्ड र मोबाइल नम्बरमार्फत आयुष्मान भारत योजनामा दर्ता गराइनेछ भने निर्माण कार्य, गाडी चालक, घरेलु कामदार र सडक व्यवसायी जस्ता असङ्गठित क्षेत्रका १६ देखि ५९ वर्षका श्रमिकहरूका लागि बैंक विवरणका साथ ई-श्रम पोर्टलमा नाम दर्ता गर्ने सुविधा दिइनेछ। यसका साथै, शिविरमा पीएम मुद्रा, पीएम विश्वकर्मा, पीएम स्वनिधि, पीएम-किसान, प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम (PMEGP) र विभिन्न बिमा तथा पेन्सन योजनाहरूबारे पनि सर्वसाधारणलाई महत्त्वपूर्ण जानकारी र मार्गदर्शन प्रदान गरिने भएकाले भाजपा सिक्किमले गान्तोक र आसपासका सम्पूर्ण योग्य नागरिकहरूलाई आवश्यक कागजातसहित उपस्थित भएर यस सुवर्ण अवसरको भरपुर फाइदा उठाउन हार्दिक अपिल गरेको छ।










