गान्तोक: विद्या भारती सिक्किम प्रान्तका प्रान्तीय संयोजक श्री मोहन शर्माले दार्जीलिङको पुलबजारमा सञ्चालित प्रख्यात विद्यालय विद्यादीप शैक्षिक संस्थानको हालै एउटा महत्त्वपूर्ण शैक्षिक एवं सांगठनिक भ्रमण गर्नुभएको छ। विद्या भारती सिक्किम प्रान्त अन्तर्गत यस विद्यालयलाई ‘सम्पर्कित विद्यालय’ को रूपमा मान्यता दिँदै उहाँले गत १४ देखि १६ जून, २०२६ सम्म तीन दिने विशेष निरीक्षण गर्नुभएको जानकारी प्राप्त भएको छ।
आफ्नो यस भ्रमणका क्रममा संयोजक शर्माले विद्यालयको समग्र अवस्थाको निरीक्षण गर्नुका साथै विद्यालय सञ्चालन समिति, आचार्य (शिक्षक-शिक्षिका) र अभिभावकहरूसँग छुट्टाछुट्टै महत्त्वपूर्ण बैठकहरू गर्नुभयो। बैठकमा विद्यालयको वर्तमान स्थिति, आगामी दिनका योजना, सामाजिक सहयोग, आर्थिक व्यवस्थापन, प्रशासनिक कार्यहरू, शैक्षिक गुणस्तर र विद्यार्थीहरूमा आध्यात्मिक अनि सामाजिक चेतना जगाउने जस्ता विविध गम्भीर विषयहरूमाथि विस्तृत रूपमा विचार-विमर्श गरियो।
यस अवसरमा बोल्दै संयोजक शर्माले आगामी दिनहरूमा विद्या भारती सिक्किम प्रान्तको रेखदेख र सबैको मार्गदर्शनमा विद्यालयका हरेक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइने कुरा स्पष्ट पार्नुभयो। उहाँले अबका दिनमा विद्यालय समिति, आचार्य परिवार र अभिभावक वर्गको आपसी समन्वय, सहयोग अनि सक्रियतामा नै विद्यालयलाई नयाँ उचाइमा पुर्याउने संकल्प गरिएको पनि बताउनुभयो।
यसैबीच, विद्यादीप विद्यालय परिवारले प्रान्तीय संयोजक शर्मालाई आफ्नो व्यस्त समय निकालेर विद्यालयको मार्गनिर्देशन गरिदिएकोमा हार्दिक आभार प्रकट गरेको छ। भ्रमणका क्रममा शर्माले प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूसँग अर्थपूर्ण अन्तरक्रिया गर्नुका साथै प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई आफ्नो प्रेरणादायी र ओजस्वी शब्दहरूद्वारा प्रोत्साहन अनि मार्गदर्शन दिनुभएको विद्यालय प्रशासनले जनाएको छ।
तपाईंहरूलाई जानकारी गराइराखौँ, पुलबजारको यस विद्यादीप शैक्षिक संस्थानमा हाल १९७ जना विद्यार्थीहरू अध्ययनरत छन्। यो विद्यालय ‘पश्चिम बङ्गाल सोसाइटी रेजिस्ट्रेशन एक्ट, १९६१’ अन्तर्गत विधिवत् रूपमा पञ्जीकृत रहेको छ। विद्यालयमा एउटा राम्रो छात्रावासको पनि व्यवस्था छ, जहाँ अहिले ३० जना भन्दा बढी बालबालिकाहरू बसेर पढिरहेका छन्। यस छात्रावासमा दार्जीलिङ र सिलगढीका साथै सिक्किमको नाम्ची, राभाङ्ला र जलढाका जस्ता विभिन्न ठाउँहरूका विद्यार्थीहरूले बसेर ज्ञान आर्जन गरिरहेका छन्।









