फिजिक्स वालासँग मिलेर युवाहरूलाई नि:शुल्क कोचिङ दिइने
दार्जीलिङ: पहाडका होनहार युवाहरूलाई सरकारी र प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता दिलाउने उद्देश्यले आज दार्जीलिङमा एउटा ठुलो अनि सराहनीय पहलको सुरुवात भएको छ। दार्जीलिङ वेलफेयर सोसाइटी (डीडब्ल्यूएस) ले देशकै प्रख्यात शैक्षिक संस्था ‘फिजिक्स वाला’सँग हात मिलाउँदै ‘डीडब्ल्यूएस उत्कर्ष’ नामक नि:शुल्क प्रतिस्पर्धात्मक परीक्षा प्रशिक्षण अभियानको आधिकारिक रूपमा शुभारम्भ गरेको छ।
आज दार्जीलिङमा आयोजित एक विशेष कार्यक्रममा यस जनपक्षीय पहलको संयुक्त रूपमा उद्घाटन गरियो। कार्यक्रममा मुख्य रूपमा डीडब्ल्यूएसका अध्यक्ष तथा पूर्व विदेश सचिव श्री हर्षवर्धन श्रृङ्गला, दार्जीलिङका विधायक श्री नोमन राई, पद्मश्री प्रो. गम्भीर सिंह योन्जोन, साउथफिल्ड कलेजकी प्रिन्सिपल डा. अनुराधा राई र फिजिक्स वालाका उपाध्यक्ष श्री सन्दीप शुक्ला उपस्थित हुनुहुन्थ्यो।

यस अवसरमा दार्जीलिङ वेलफेयर सोसाइटीका सदस्यहरू, उत्साही स्वयंसेवकहरू, यसअघिका ब्याचहरूमा प्रशिक्षण लिएर विभिन्न परीक्षाहरूमा सफल भइसकेका उम्मेदवारहरूका साथै दार्जीलिङ, कालिम्पोङ र सम्पूर्ण उत्तर बङ्गाल क्षेत्रका इच्छुक युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
यो नि:शुल्क प्रशिक्षण पहलले आर्थिक रूपमा कमजोर तर क्षमतावान् पहाडका विद्यार्थीहरूलाई भविष्यमा विभिन्न उच्च पद र सरकारी सेवाका परीक्षाहरू उत्तीर्ण गर्नका निम्ति एउटा बलियो जग र सुवर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ।









