गान्तोक: भारत सरकारकी सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) अनि श्रम एवं रोजगार केन्द्रीय राज्यमन्त्री सुश्री शोभा करन्दलाजेले आफ्नो दुई दिने सिक्किम भ्रमणको दोस्रो दिन आज गान्तोकका विभिन्न उद्यमशील प्रतिष्ठानहरूको भ्रमण गरी व्यवसायी तथा उद्योग प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्नुभयो।
भ्रमणका क्रममा केन्द्रीय राज्यमन्त्रीले गार्मेन्ट तथा सैलुन व्यवसायकी सञ्चालिका सुश्री शोवा राईसँग अन्तरक्रिया गर्नुभयो, जहाँ सुश्री राईले आफ्नो उद्यमशीलताको यात्रा र एमएसएमई मन्त्रालयद्वारा सञ्चालित विभिन्न योजनाहरूबाट प्राप्त फाइदाहरूबारे जानकारी गराउनुभयो। सो अवसरमा स्थानीय उद्योगहरूलाई थप सबल बनाउन, उनीहरूको कार्यक्षेत्र बढाउन र बजारसम्मको पहुँच सुधार्नका लागि आवश्यक सहयोग संयन्त्रबारे पनि छलफल भएको थियो।
यसैगरी, मन्त्रीले कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) सिक्किमका अध्यक्ष श्री सोनी विर्दीको व्यावसायिक प्रतिष्ठानको पनि भ्रमण गर्नुभयो। उक्त भेटघाटका क्रममा सिक्किममा एमएसएमई प्रणालीलाई अझ सुदृढ पार्ने उपायहरूमाथि विचार-विमर्श गरियो। श्री विर्दीले तृणमूल स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न र दिगो जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न स्वयं सहायता समूहहरूले खेलेको सक्रिय भूमिकाबारे प्रकाश पार्नुभयो।
अन्तरक्रियाका क्रममा सुश्री करन्दलाजेले उद्यमीहरूलाई उपयुक्त परियोजना प्रस्तावहरू तयार गरी विभिन्न एमएसएमई सहायता कार्यक्रमहरू अन्तर्गत विचारका लागि भारत सरकार समक्ष पेस गर्न प्रोत्साहन दिनुभयो। उहाँले उत्तर-पूर्वी क्षेत्रमा नवप्रवर्तन, उद्यम विकास र रोजगारी सिर्जनाका लागि केन्द्र सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा दोहोर्याउनुभयो। माननीय प्रधानमन्त्रीको आर्थिक वृद्धिको मुख्य संवाहकका रूपमा एमएसएमई क्षेत्रलाई बलियो बनाउने दूरदृष्टिलाई स्पष्ट पार्दै उहाँले विकसित बजारमा प्रतिस्पर्धा गर्न उद्यमीहरूलाई सीप, तालिम र क्षमता अभिवृद्धिले सुसज्जित गराउनु पर्ने आवश्यकतामा जोड दिनुभयो।
भ्रमणका क्रममा सिक्किमका लघु उद्यमहरूद्वारा निर्मित विभिन्न स्थानीय उत्पादन र उपहार सामग्रीहरू केन्द्रीय राज्यमन्त्रीलाई प्रदान गरिएको थियो। अन्तरक्रियामा बोल्दै मन्त्रीले उद्यमशीलतामा महिलाहरूको बढ्दो सहभागिताको सराहना गर्नुभयो र आर्थिक एवं सामाजिक विकासमा उनीहरूको योगदानलाई स्वीकार गर्नुभयो। उहाँले जैविक खेतीमा सिक्किमको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै राज्यका अर्गानिक र स्थानीय उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि ब्रान्डिङ, मूल्य अभिवृद्धि र रणनीतिक बजारीकरणको महत्त्वमा जोड दिनुभयो।
यसका साथै, मन्त्रीले आफ्नो भ्रमणका क्रममा दिवंगत पद्मश्री पुरस्कार विजेता तुलाराम उप्रेतीका परिवारका सदस्यहरूलाई भेटेर उहाँको सामाजिक योगदान र विरासतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।
पर्यावरण संरक्षण, उद्यमशीलता विकास र राज्यमा एमएसएमई क्षेत्रको प्रवर्द्धनमा केन्द्रित विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू पूरा गरी सुश्री करन्दलाजे बुर्तुक हेलिप्याडबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएसँगै उहाँको दुई दिने सिक्किम भ्रमण भव्य रूपमा समापन भएको छ।










