सोरेङ: केन्द्रमा स्थापित यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको गौरवशाली १२ वर्षे कार्यकाल अभियानको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा आज सोरेङ जिल्ला भाजपा पार्टी कार्यालयमा किसान मोर्चाको तत्त्वावधानमा प्राकृतिक खेती (नेचुरल फार्मिङ) विषयमाथि एक दिवसीय कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ।
उक्त विशेष कार्यशालामा राज्य भाजपा किसान मोर्चाका अध्यक्ष नामो वाञ्चोक शेर्पा, सोरेङ जिल्ला अध्यक्ष सञ्जित लिम्बू, जिल्ला किसान मोर्चा अध्यक्ष डी.बी. दर्नाल, सोरेङ बीजेवाईएम अध्यक्ष अमित राई, युवा नेता लातेन शेर्पा र विकास प्रधान लगायत भाजपाका सक्रिय कार्यकर्ताहरू अनि कृषक समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यशाला अवधि सिक्किममा प्राकृतिक तथा जैविक खेती (अर्गानिक फार्मिङ) को वर्तमान स्थिति, भावी सम्भावना र यसका विविध प्राविधिक पक्षहरूमाथि गम्भीरतापूर्वक विचार-विमर्श गरियो। पहाडी क्षेत्रमा रासायनिक मलको प्रयोग बिना कसरी परम्परागत र वैज्ञानिक पद्धति अपनाएर कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकिन्छ अनि पर्यावरणलाई नबिगारी कृषकहरूको आर्थिक स्तर उकास्न सकिन्छ भन्ने विषयमा वक्ताहरूले विस्तृत रूपमा प्रकाश पारेका थिए।










