खरसाङ: पश्चिम बंगालको डबल इञ्जिनको सरकारले कुनै पनि भ्रष्टाचारबिना नै सोझै लाभ जनतालाई हस्तान्तरण गर्न चाहान्छ भनी राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारीले खरसाङजो गोथल्समा आयोजित पहिलो जनकल्याण शिविरमा जनतालाई सम्बोधन गर्दै बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार बिश्वमा सबैभन्दा बेसी समयसम्म सेवा गर्ने सरकार बनेको छ भन्दै सरकारको १२ वर्ष पुगेको अवसरमा राज्यभरि ५ जूनदेखि २१ जूनसम्म विभिन्न स्थानहरुमा एक हजार एक सय जनकल्याण शिविरको आयोजना भईरहेको र यस क्रममा पहाडमा १५, १६ र १७ जूनमा पहिलो जनकल्याण शिविर चलिरहेको बताएका छन्। उनले जनतालाई सम्बोधन गर्दै भने, ‘तपाईहरु सरकारलाई साथ र सहयोग गर्नु हवस, सरकार सदैव जनताको लागि काम गर्न तयार छ। विशेष गरेर पहाडको विकास र प्रगतिको मार्गमा अघि लान डबल इञ्जिनको सरकारले काम गर्नेछ।’
पहाड विषयमा बोल्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, ‘पुरानो सरकारले पहाडको लागि र पहाडको जनताको लागि केही काम गरेन। तर अब डबल इन्जिनको सरकारले काम गरेर देखाउनेछ। विगतको सरकारले जीटीएमा वित्त वर्ष २०२४-२५ मा १८० करोड दियो तर काम भने केही गरेन बरु भ्रष्टाचार मात्र गर्यो। तर यसपाली हामी पहाडको विकासको लागि दुई गुणा -तीन गुणा बढी काम गर्न तयार छौँ। कालेबुङमा मेडिकल कलेज, राजमार्ग, राज्य हाईवे, जीटीएको रोड, नगरपालिका क्षेत्रको रोड, पुल, कनेक्टिभिटी आदिमा विशेष जोड दिएर काम गरिनेछ।’
मुख्यमन्त्रीले अघि भने, पहाडको स्कूलहरुमा प्रधानमन्त्री पीएमसी योजना अन्तर्गत स्मार्ट शिक्षा केन्द्र, स्मार्ट क्लास बनाउने योजना छ। ग्राम पञ्चायत क्षेत्रमा प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र नगरपालिका क्षेत्रमा अम्रूत जल योजनामार्फत् पानी दिने हाम्रो योजना छ।’











