खरसाङ: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड भ्रमणमा आउने क्रममा आज खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित कार्यक्रममा सहभागी भए। मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको मन्टिभियट खेल मैदानमा दिउँसो लगभग १:३० बजीतिर आईपुगेका थिए। खरसाङमा मूख्यमन्त्री शुभेन्दु अधिकारीलाई भारतीय जनता पार्टीको पदाधिकारीहरु, मन्त्री, विधायक, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र जनसाधारण जनताले भव्य स्वागत जनाएका थिए।मुख्यमन्त्री शुभेन्दु अधिकारीको मन्टिभियट खेल मैदानमा जनसभा सम्पन्न भएको छ। उक्त जनसभालाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अध्यक्षता गरेका थिए भने शुभ प्रधानले सञ्चालन गरेका थिए। उक्त जनसभामा दार्जिलिङका सांसद राजु विष्टले स्वागत सम्भाषण राखेका थिए। मुख्यमन्त्री शुभेन्दु अधिकारी हेलिकप्टरबाट खरसाङ आउने भनिए पनि अन्ततः उनी सडक मार्ग भएर आएका थिए। उनीसितै उत्तर बंगाल विकास मन्त्री नितिस प्रामाणिक, राज्य मन्त्रीद्वय आनन्दमय बर्मन र विशाल लामा, राज्यसभा सांसद हर्षबर्ध्दन श्रृंखला, विधायकहरु दुर्गा मुर्मु, भरत छेत्री, नोमन राई, सोनाम लामा, गोजमुमो अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, गोरामुमो अध्यक्ष मन घिसिङ, क्रामाकपा अध्यक्ष जेबी राई लगायत अन्यहरु उपस्थित रहेका थिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मन्टिभियट खेल मैदानमा आयोजित जनसभालाई सम्बोधन पनि गरेका थिए। यस जनसभामा धन्यवाद ज्ञापन खरसाङका विधायक सोनाम लामाले राखेका थिए। मन्टिभियट खेल मैदानमा आयोजित जनसभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको गोथल्समा आयोजित सरकारी कार्यक्रममा भाग लिन पुगेका थिए। खरसाङमा आयोजित जनसभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।









