​नाम्चीमा एसडीएफको उच्चस्तरीय बैठक सम्पन्न

cf1a9fb8-9a72-4c40-8706-1e285d869cd3

२२ जूनमा जोरेथाङमा ‘क्रान्ति दिवस’ मनाउने निर्णय, नयाँ कार्यसमिति गठन

नाम्ची: आगामी २२ जून २०२६ का दिन व्यापक रूपमा पालन गरिने ‘क्रान्ति दिवस’-को पूर्वतयारीलाई लिएर आज दक्षिण सिक्किमको नाम्चीस्थित एसडीएफ पार्टी कार्यालयमा एउटा महत्त्वपूर्ण उच्चस्तरीय सभा सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेताहरू र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको उक्त सभामा एसडीएफले विगतदेखि नै सिक्किमे जनताको हित र अधिकारका पक्षमा थालेका विभिन्न क्रान्ति र आन्दोलनहरूबारे गम्भीर चर्चा-परिचर्चा गरियो।
​सभामा वक्ताहरूले आफ्नो विचार राख्दै सन् १९९३ मा एसडीएफ पार्टीले सुरु गरेको क्रान्तिले नै सिक्किममा आमूल परिवर्तन र विकासको लहर ल्याएको दाबी गरे। तर, वर्तमान समयमा त्यो ऐतिहासिक उपलब्धिलाई भ्रान्तिको भुमरीमा पारेर धरापमा थापिएको हुनाले, सिक्किमे जनताको हक-अधिकार रक्षाका निम्ति फेरि एकपल्ट त्यही क्रान्तिलाई निरन्तरता दिनु आवश्यक भइसकेको कुरामा जोड दिइयो। विगतको एसडीएफ सरकारले सिक्किमेली जनताका लागि जोहो गरिराखेको सम्पूर्ण समृद्धि, शान्ति र उन्नतिलाई वर्तमान सरकारले तहस-नहस पारेर सिङ्गो सिक्किमलाई अथाह दलदलमा फँसाएको आरोप समेत सभामा लगाइयो।
​’क्रान्ति दिवस समारोह समिति’ गठन र कार्यभार
​आगामी २२ जूनका दिन दक्षिण सिक्किमको जोरेथाङ पार्टी कार्यालयमा ‘सम्पूर्ण क्रान्ति दिवस’ भव्यताका साथ पालन गर्ने निधो गर्दै सभामा एक विशेष समारोह समिति गठन गरिएको छ।
​यस नवगठित समितिको अध्यक्ष पदमा जोरेथाङ पार्टी कार्यालय (प्रशासन)-का वरिष्ठ उपाध्यक्ष श्री पी.एस. सुब्बा र नाम्ची कार्यालय (प्रशासन)-का वरिष्ठ उपाध्यक्ष श्री एम.बी. गुरुङलाई मूल संयोजकको रूपमा चयन गरिएको छ। यसका साथै, राज्यका सबै जिल्लाका जिल्ला प्रभारी तथा जिल्ला समितिका अध्यक्षहरूलाई स्वतः यस समितिको संयोजकका रूपमा जिम्मेवारी सुम्पिएको छ।
​”क्रान्ति कहिल्यै निसन्तान हुँदैन”: पवन चामलिङ
​एसडीएफले सिक्किमेको जित र सिक्किमको हितका लागि सुरु गरेको क्रान्ति नै वास्तवमा असली ‘सिक्किमे क्रान्ति’ भएको दाबी गर्दै पार्टी अध्यक्ष श्री पवन चामलिङको एउटा प्रसिद्ध विचारलाई सभामा स्मरण गरियो, जसमा भनिएको छ, “क्रान्ति कहिल्यै निसन्तान हुँदैन।”
​विज्ञप्तिमा उल्लेख गरिए अनुसार, समयले फेरि सिक्किमलाई यस्तो मोडमा पुर्‍याएको छ, जहाँबाट यदि सिक्किमले क्रान्तिको मूल बाटो नसमातेको खण्डमा सिक्किमे जातिको अस्तित्व नै इतिहासको पानाबाट हराएर जाने खतरा बढेको छ। यसै ऐतिहासिक आवश्यकतालाई बोध गर्दै पार्टी अध्यक्ष पवन चामलिङ फेरि एकपल्ट सिक्किमे जनता र राज्यको हितमा एउटा नयाँ आमूल परिवर्तनको क्रान्ति लिएर मैदानमा ओर्लिरहनुभएको बताइएको छ। सिक्किममा हाल भइरहेका सारा राजनीतिक षड्यन्त्र र प्रपञ्चहरूलाई तोड्दै, शोषक र सामन्तहरूको विरुद्धमा जनताको असली क्रान्ति लिएर एसडीएफ अब निर्णायक लडाइँ लड्न अघि बढिरहेको छ। राज्यका युवा र चेलीहरूको हक, अधिकार र नयाँ अवसरको संवाहक बनेर एसडीएफ फेरि सिक्किमको राजनीतिक भूमिमा एउटा शक्तिशाली जन-हुङ्कार बनेर उभिने दाबी पार्टीले गरेको छ।

About Author

Advertisement