कृषि-पर्यटन प्रवर्द्धनमा सिक्किम र नेपालबीच ऐतिहासिक सम्झौता

FB_IMG_1781547241591

रिनाकमा तीन दिवसीय प्रथम अन्तरराष्ट्रिय कृषि पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न

रिनाक: सिक्किम र नेपालबीच कृषि-पर्यटन (एग्रो-टुरिजम) लाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ एक महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ। पाकिम जिल्लाअन्तर्गत ऐतिहासिक रिनाक बजारमा विगत तीन दिनदेखि चलिरहेको ‘प्रथम अन्तरराष्ट्रिय कृषि पर्यटन महोत्सव २०२६’ को समापन समारोहको अवसरमा सोमबार दुवै देशका प्रतिनिधिहरूले यस सहकार्य सम्बन्धी सम्झौता पत्रमा सही-छाप गरेका हुन्।
​रिनाक टुरिजम डेभलपमेन्ट सोसाइटी, डिस्कभर तिमी अनि मार्ताम टुरिजम डेभलपमेन्ट सोसाइटीको संयुक्त तत्त्वावधानमा आयोजित यस गरिमामय महोत्सवमा नेपाल, भुटान र भारतका कृषि-पर्यटन क्षेत्रसँग जोडिएका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। समापन कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती मुख्य अतिथिका रूपमा उपस्थित थिए।
​पर्यटनलाई कृषिसँग जोड्नु आजको आवश्यकता: मन्त्री अरुण उप्रेती
​समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री अरुण कुमार उप्रेतीले पर्यटन क्षेत्रमा अपार सम्भावना बोकेको सिक्किमले अब पर्यटनलाई कृषिसँग जोड्नु अनिवार्य भइसकेको कुरामा जोड दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ सिक्किम’ को सपनालाई साकार पार्न गाउँ-गाउँलाई पर्यटनसँग जोड्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए।
​मन्त्री उप्रेतीले अझ भने,
​”पर्यटकहरू सिक्किमको शान्त वातावरण, स्वच्छ हावापानी र अर्गानिक खानपानको आनन्द लिन यहाँ आउने गर्छन्। यसैले उनीहरूलाई गाउँघरमा होमस्टेको व्यवस्थासहित स्थानीय संस्कृति, परम्परा र जैविक खानाको स्वाद चखाउनु आवश्यक छ। सिक्किम, भुटान र नेपालबीच पर्यटन प्रवर्द्धनमा आपसी सहकार्य अपरिहार्य छ र यस दिशामा रिनाकवासीले अग्रसर भएर काम गर्नुपर्छ।”
​त्रिदेशीय मित्रता र साझा समृद्धिको नयाँ अध्याय: मणिकुमार स्याङ्बो
​नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आइपुगेका इलाम, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले त्रिदेशीय पर्यटन प्रवर्द्धनमा नेपालले सदैव सक्रिय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे। सिक्किम विश्वकै पहिलो पूर्ण जैविक (अर्गानिक) राज्य भएकोमा प्रशंसा गर्दै उनले यो महोत्सव केवल पर्यटनको निम्ति मात्र नभएर त्रिदेशीय मित्रता, सहकार्य र साझा समृद्धिको सुखद सुरुवात भएको बताए।
​हिमाली क्षेत्रका सिक्किम, भुटान र नेपालको भाषा, संस्कृति, रहनसहन र परम्परामा निकै समानता रहेको चर्चा गर्दै अध्यक्ष स्याङ्बोले सीमापार पर्यटन (क्रस-बोर्डर टुरिजम) को अवधारणालाई दह्रो बनाउँदै अघि बढ्नु आजको माग रहेको र यसमा नेपाल सरकार अनि पर्यटन मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा स्पष्ट पारे।
​भुटानद्वारा सिक्किम सरकारप्रति आभार
​भुटान च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यकारी एवं सल्लाहकार रिक्सिन जाम्सोले सिक्किममा यस्तो भव्य अन्तरराष्ट्रिय महोत्सव आयोजना गरेर भुटानलाई पनि सँगै समेटेकोमा सिक्किम सरकारप्रति आभार प्रकट गरे। उनले भुटानको विकास केवल आर्थिक वृद्धिमा मात्र सीमित नरहेर कृषि, पर्यावरण संरक्षण र सुशासनमा आधारित रहेको जानकारी दिए। तीन देश, तीन जिल्ला र तीन समष्टिलाई एउटै मञ्चमा ल्याउने यो प्रयासले आगामी पुस्तालाई दिगो विकासतर्फ प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे।
​जैविक उत्पादन र सांस्कृतिक प्रस्तुतिले तान्यो सबैको मन
​तीन दिनसम्म चलेको यस महोत्सवको मुख्य आकर्षण रिनाक बजारमा लगाइएको प्रदर्शनी रह्यो, जहाँ स्थानीय स्वयं सहायता समूह र प्रगतिशील कृषकहरूले आफ्ना जैविक उत्पादन, परम्परागत परिकार, हस्तशिल्प र हतकलाका सामग्रीहरू प्रदर्शनमा राखेका थिए।
​यसअघि, रिनाक टुरिजम डेभलपमेन्ट सोसाइटीका अध्यक्ष विनोद सुब्बाले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र अहिलेसम्मका गतिविधिमाथि प्रकाश पारेका थिए। कृषि विभागकी उपनिर्देशक रिबिका गुरुङले कृषि-पर्यटनको महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्। समारोहमा सिक्किम सरकारको संस्कृति विभाग, रिनाकको पीकेके डान्स एकेडेमी, सिम्फनी कर्ड लगायत विभिन्न जीपीयूका कलाकारहरूले उत्कृष्ट गीत तथा नृत्य प्रस्तुत गरेर माहौललाई रङ्गीन बनाएका थिए।
​कार्यक्रमको सञ्चालन गगन प्रधानले गरेका थिए भने ओएसडी डी.बी. छेत्रीले महोत्सवलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गरे। यस समापन समारोहमा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, जिल्ला अध्यक्ष लाडेन ल्हामु भोटिया, उपाध्यक्ष प्रभा प्रधान, जिल्लापाल परि विष्णोई, जिल्ला अधिक्षक पारु रुचाल लगायत विभिन्न विभागका उच्चाधिकारी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

About Author

Advertisement