सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुंग सन्तमेरिज समष्टिको सिंगेल चियाबारी अनि गोथल्समा गोरामुमोको सांगठनिक सभा सम्पन्न भएको समष्टि सचिव सन्तोष सुब्बाले जानकारी दिएका छन्। एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई महेन्द्र तामाङले सञ्चालन गरेका थिए। सभामा सिंगेल शाखालाई बलियो बनाउनको निम्ति व्यापक छलफल गर्दै शाखामा थप नयाँ सदस्यहरु चयन गरिएका छन्। लथालिङ्ग भएको दार्जीलिङ पहाडलाई अब संवैधानिक ब्यवस्थामार्फत् सुरक्षित गर्दै भविष्यको भावी पिँढीहरुको निम्ति तपाईं हामी सबै एक भएर कार्य गर्नुपर्छ। अब यो अन्तिम लडाइँ हो सबै गोर्खा सन्तान पार्टी हेरेर होइन तर जाति र माटोको निम्ति अगि आउनुपर्छ भनी वक्ताहरुले आफ्नो सम्बोधनको क्रममा बताएका छन्। यसै क्रममा गोथल्स शाखामा समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सांगठनिक सभामा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, हेमराज छेत्री, अमृता राई तिलक राई अनि शाखाका प्रतिनिधिबर्ग उपस्थित रहेका थिए। सभामा गोर्खा जातिले संवैधानिक न्याय नपाएसम्म गोरामुमो लागि पर्ने, अब सही समय आएको छ र यसलाई फत्ते गर्नुपर्छ। पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो भन्ने मूल मन्त्रलाई नै गोरामुमोले आफ्नो राजनैतिक धर्म मानेर पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा कार्य गरिरहेका छन् भनी वक्ताहरुले सभामा जानकारी गराएका थिए।










