खरसाङ: खरसाङ विधानसभा क्षेत्र अन्तर्गत पर्ने कालीझोडा र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा तथा राष्ट्रिय राजमार्ग-१० मा यात्रा गर्ने यात्रीहरूका लागि स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने भएको छ। भारतीय लोकसभा सांसद राजु विष्टको विशेष पहलमा टिस्टा लो ड्याम-४ पावर स्टेसन, एनएचपीसी लिमिटेडले कालीझोडा गाउँका बासिन्दाहरूलाई एक थान एम्बुलेन्स सहयोग स्वरूप उपलब्ध गराएको छ।
सांसद राजु विष्टले आइतवार आफैँ उपस्थित भई उक्त एम्बुलेन्स स्थानीय जनतालाई हस्तान्तरण गर्नुभएको हो। एनएचपिसी लिमिटेडको वर्ष २०२५-२६ को ‘कर्पोरेट सामाजिक उत्तरदायित्व र दिगो विकास’ (सीएसआर र एसडी) पहल अन्तर्गत यो एम्बुलेन्स प्रदान गरिएको हो।
सांसद विष्टको पहल र तस्बिरको सन्देश
गाउँमा आपतकालीन स्वास्थ्य सेवाको अभाव भएपछि कालीझोडाका स्थानीय बासिन्दाहरूले केही समयअघि सांसद राजु विष्टसँग एम्बुलेन्स व्यवस्था गरिदिन अनुरोध गरेका थिए। जनताको सोही मर्कालाई बुझ्दै सांसद विष्टले एनएचपिसी प्रशासनसँग यस विषयमा निरन्तर संवाद गरी सीएसआर कोषमार्फत एम्बुलेन्स स्वीकृत गराउनुभएको थियो। एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका तस्बिरहरूमा स्थानीय ग्रामीण जनतामाझ ठूलो उत्साह र खुसीयाली छाएको स्पष्ट देखिन्छ।

दुर्घटना र आपतकालीन समयमा ‘जीवनरक्षक’ बन्ने विश्वास
भौगोलिक रूपमा विकट र सीमित स्वास्थ्य सुविधाहरू भएको यस क्षेत्रमा, विशेष गरी टिस्टा नदी किनारको एनएच-१० मा बेलाबेलामा हुने दुर्घटना र अन्य स्वास्थ्य आपतकालिन अवस्थामा समयमै अस्पताल पुग्न निकै गाह्रो हुने गरेको थियो। यो एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि बिरामीहरूलाई छिटो र सुरक्षित रूपमा नजिकका अस्पतालहरूमा पुर्याएर अमूल्य जीवन बचाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै सांसद राजु विष्टले यस क्षेत्रको स्वास्थ्य, शिक्षा र समग्र दिगो विकासका लागि यस्ता अर्थपूर्ण कार्यहरूमा निरन्तर सहयोग पुर्याएकोमा एनएचपीसी व्यवस्थापनलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।








