सिलगुढी: भारत सरकारको पर्यटन मन्त्रालय (गन्तव्य विकास महाशाखा) की निर्देशक सीमा जैन (आईईएस) आज बागडोग्रा विमानस्थल आइपुग्नुभएकी छन्। उहाँ १४ जूनदेखि १७ जून २०२६ सम्म सिक्किमको चार दिने औपचारिक भ्रमणका लागि यहाँ आउनुभएको हो।
विमानस्थलमा ओर्लनुभएकी निर्देशक जैनलाई सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरूद्वारा न्यानो स्वागत गरिएको छ। स्वागत टोलीमा सामेल पर्यटन सूचना केन्द्र (टीआईसी) बागडोग्रा एकाइकी एडलिन सी. छेत्री र सहायक इन्जिनियर एवं सम्पर्क अधिकारी प्रज्ञा तामाङले उहाँलाई सिक्किमेली परम्पराअनुसार ‘खादा’ ओढाएर स्वागत गर्नुभएको थियो।
विमानस्थलको औपचारिक स्वागत र शिष्टाचार भेटघाट सम्पन्न भएलगत्तै स्वागत टोलीले निर्देशक जैनलाई उहाँको भ्रमण तालिकाअनुसार निर्धारित गन्तव्यतर्फ प्रस्थान गराएको छ। चार दिने यस भ्रमणका क्रममा सिक्किमको पर्यटन क्षेत्रको विकास र विभिन्न रैथाने गन्तव्यहरूको स्तरोन्नतिका विषयमा महत्त्वपूर्ण छलफल तथा निरीक्षण हुने अपेक्षा गरिएको छ।










