एसबीआई-को प्रोसेसिंग सेन्टरहरू कोलकाताबाट अन्तै सार्ने चाँजोपाँजो

107466314.cms

बैंक बचाओ देश बचाओ मंच’-द्वारा मुख्यमन्त्री शुभेंदु अधिकारीसमक्ष गुहार

कोलकाता: भारतीय स्टेट बैंक (एसबीआई)-का विभिन्न प्रोसेसिंग केन्द्रहरूलाई कोलकाताबाट अन्य शहरहरूमा सार्ने भइरहेको भित्री तयारीको विरोधमा ‘बैंक बचाओ देश बचाओ मंच’-ले दरो आवाज उठाएको छ। मंचले पश्चिम बंगालका मुख्यमन्त्री शुभेंदु अधिकारीलाई यस मामिलामा तुरून्तै हस्तक्षेप गरेर यो कदम रोकिदिने माग राख्दै गुहार मागेको छ। संगठनको भनाइ अनुसार, यदि यसो गरियो भने राज्यको ऐतिहासिक बैंकिंग विरासत, रोजगार अनि आर्थिक गतिविधिहरूमा साह्रै नराम्रो असर पर्नेछ।
​मंचका संयुक्त संयोजकद्वय विश्वरंजन राय अनि सौम्य दत्ताले बताए अनुसार, सेन्ट्रलाइज्ड पेन्सन प्रोसेसिंग सेन्टर (सीपीपीसी), लोन सेन्ट्रल प्रोसेसिंग सेन्टर (एलसीपीसी) अनि सेन्ट्रलाइज्ड क्रेडिट प्रोसेसिंग सेन्टर (सीसीपीसी)-लाई कोलकाताबाट बाहिर लैजाने खबरले सबैतिर चिन्ता बढाएको छ। यसले गर्दा शहरको ऐतिहासिक बैंकिंग पहिचान नै हराएर जाने उनीहरूको दाबी छ।
​अघि पनि खोसिएको थियो कतिपयको जागिर
संगठनले मुख्यमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरे अनुसार, यसभन्दा अघि पनि एसबीआई-को ‘सेन्ट्रल एकाउन्ट्स अफिस’-लाई कोलकाताबाट अन्तै सारिँदा यहाँका लगभग ४०० जना जति कर्मचारीहरूको जागिर प्रभावित भएको थियो। जसमा बैंकका अधिकारी, क्लर्क, तल्ला तहका कर्मचारी अनि कन्ट्याक्ट (संविदा)-मा काम गर्नेहरू सामेल थिए।
​पलायन रोक्ने कडा माग
मंचले मुख्यमन्त्रीसँग कडा अपिल गर्दै, उहाँले खुदै एसबीआई व्यवस्थापन अनि केन्द्र सरकारसँग यस विषयमा कुरा गरिदिनु पर्ने माग राखेको छ। राज्यबाट यसरी बैंकिंग संस्थान र मुख्य-मुख्य कामकुरा हुने यूनिटहरू अन्तै सरेर जाने क्रमलाई रोक्न कडा कदम चालियोस् भन्ने उनीहरूको चाहना छ। यसका साथै, अघिबाटै कोलकाताबाट सारिसकिएका बैंकिंग गतिविधिहरूलाई फेरि कोलकातामै फर्काएर ल्याउने सम्भावनाहरूमाथि पनि विचार गरियोस् भनी मंचले माग गरेको छ।

About Author

Advertisement