नयाँ दिल्ली: अमेरिकी व्यवसायी एलोन मस्कले धनको मामिलामा एउटा नयाँ इतिहास रचेका छन्। स्पेसएक्सको आइपिओ पछि उनको कुल सम्पत्ति बढेर झण्डै १.१ ट्रिलियन डलर पुगेको छ र उनी विश्वकै पहिलो ‘ट्रिलेनियर’ (खर्बपति) बनेका छन्। यसअघि फोर्ब्सले उनको सम्पत्ति करिब ७८० अरब डलर आँकलन गरेको थियो।
मस्कको सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा उनको कम्पनी स्पेसएक्सको शेयरबाट आउँछ, जसको अनुमानित मूल्य करिब ८६६ अरब डलर बताइएको छ। यसबाहेक ‘टेस्ला’, ‘एक्स’, ‘न्यूरालिङ्क| र ‘द बोरिङ कम्पनी’ मा पनि उनको ठूलो हिस्सेदारी रहेको छ।
एआई र रोबोटको युगमा पैसाको महत्त्व घट्न सक्छ: मस्क
यति ठूलो सम्पत्ति कमाए पनि मस्क भने भविष्यमा पैसाको महत्त्व कम हुन सक्ने विश्वास गर्छन्। सन् २०२६ को ‘एबन्डेन्स समिट’ मा बोल्दै उनले आगामी समयमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) र रोबोटहरू मानिसका आवश्यकताहरू पूरा गर्न पूर्ण रूपमा सक्षम हुने दाबी गरे।
मस्कका अनुसार एआई र रोबोटको बढ्दो क्षमताले उत्पादन यसरी बढाउनेछ कि धेरैजसो चिजहरू सजिलै र सस्तोमा उपलब्ध हुनेछन्। उनले भविष्यमा “युनिभर्सल हाई इन्कम” जस्तो स्थिति बन्न सक्ने बताए, जहाँ मानिसका लागि परम्परागत जागिर र आम्दानीको परिभाषा नै बदलिनेछ।
काम गर्नु बाध्यता होइन, विकल्प बन्नेछ
उनले भविष्यमा काम गर्नु मानिसको बाध्यता नभएर एउटा विकल्प मात्र बन्न सक्ने पनि उल्लेख गरे। मस्कको कम्पनी टेस्लाले अहिले ‘अप्टिमस’ नामक ह्युमनोइड (मानव स्वरूपको) रोबोटमा काम गरिरहेको छ र कम्पनीको लक्ष्य सन् २०३० सम्ममा १० लाख रोबोटहरू परिचालन गर्ने रहेको छ।
विश्वकै पहिलो ट्रिलेनियर बने पनि मस्कको ध्यान अहिले पैसाभन्दा बढी अन्तरिक्ष, एआई र रोबोटिक्स जस्ता क्षेत्रमा केन्द्रित छ, जसलाई उनी मानव सभ्यताको भविष्यका लागि सबैभन्दा महत्त्वपूर्ण मान्छन्।











