विभिन्न भाषाका फिल्महरुको प्रदर्शनी
खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत शुक्रवार खरसाङ रेलवे स्टेशनमा ध्रुमा फिल्म फेस्टिभल शुरु भएको छ। यो शनिवार पनि जारी रहनेछ। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा गत ६ जूनदेखि १४ जूनसम्म समर फेस्टिभलको आयोजना भईरहेको छ। यसै क्रममा शुक्रवार १२ जूनको दिन यस ध्रुमा फिल्म फेस्टिभलको उदघाटन बिहान सिलगढीमा मन्त्री दिलिप घोषको बाहुलीबाट विधिवत् रुपमा गरिएको छ भने साँझ खरसाङमा ध्रुमा फिल्म फेस्टिभल अन्तर्गत खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरुलाई लिएर विभिन्न फिल्महरु प्रदर्शन गरिएको छ। यस अन्तर्गत शुक्रवार ५-६ वटा फिल्महरु प्रदर्शन गरिएको र शुक्रवार र शनिवार गरेर ४५ वटा जति विभिन्न भाषाको फिल्महरु प्रदर्शन गरिने भएको छ। यस अवसरमा खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित ध्रुमा फिल्म फेस्टिभलको उदघाटन खरसाङका रेलवे स्टेशनको स्टेशन म्यानेजर संगम खाती, वरिष्ठ व्यक्ति जोगेन्द्र प्रसाद, प्रभा छेत्री, प्रणिता मुखिया घिसिङ लगायत अन्यको विशिष्ट व्यक्तिहरुको बाहुलीबाट सम्पन्न भएको छ। यस ध्रुमा फिल्म फेस्टिभलमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, अधिवक्ता पंकज प्रसाद, रेलवे कर्मचारीगण लगायत अन्य वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। दार्जिलिङ दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा गत ६ जूनदेखि समर फेस्टिभलको आयोजना भईरहेको छ। यसै क्रममा ६ जूनको दिन सिलगढीदेखि घैयाबारीसम्म हेरिटेज राइड, ७ जूनको दिन खरसाङको रेलवे स्टेशनदेखि तीनधारेसम्म साईकल ऱ्यालीको आयोजना गरिएको थियो भने ८ जूनको दिन दार्जीलिङ रेलवे स्टेशनमा रक्तदान शिविरको आयोजना गरिएको थियो। त्यसरी नै १० जूनको दिन तीनधारे रेलवे स्टेशनमा स्टेशन महोत्सव आयोजना गरिएको थियो भने १२ र १३ जूनको दिन ध्रुमा फिल्म फेस्टिभल र १४ जुनमा समर फेस्टिभलको समापन हुने भएको छ। उक्त समापन कार्यक्रम उत्तर बंगाल विश्वविद्यालयमा सम्पन्न हुने भएको छ। यसै क्रममा शुक्रवार खरसाङमा ध्रुमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ। ध्रुमा शब्द संस्कृतबाट लिइएको र यस शब्दको अर्थ धुमरु अर्थात् धुँवा हो। यो धुँवा दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित ईञ्जिनसित सम्बन्धित छ। ध्रुमाको पूरा नाम दार्जिलिङ हिमालयन रेलवे युनिभर्सल मोशन आट्स हो। यस ध्रुमा फिल्म फेस्टिभल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले दार्जिलिङ हिमालयन रेलवेले दार्जिलिङ पहाडको कला, संस्कृति र स्थानीय खाद्य र अन्यको संरक्षणको लागि काम गरिरहेको साथै स्थानीय समाजका वरिष्ठ व्यक्तिहरु र युवाहरुलाई समेटेर कार्यक्रमहरु आयोजना गरिरहेको बताए। उनले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा गत 6 जूनदेखि १४ जूनसम्म भईरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभल आयोजना गरिएको जानकारी गराएका छन्। रिसिभ चौधरीले अघि भने, यस फिल्म फेस्टिभल अन्तर्गत युवाहरुलाई लिएर फिल्म सम्बन्धित अनुभवी र पोख्त व्यक्तिहरुलाई लिएर कार्यशाला पनि आयोजना गरिएको छ।

यस फिल्म फेस्टिभल अन्तर्गत राष्ट्रिय र राज्य स्तरका विभिन्न फिल्महरु प्रदर्शन गरिएको पनि जानकारी गराएका छन्। उनले यस ध्रुमा फिल्म फेस्टिभलको उदघाटन शुक्रवार बिहान सिलगढीमा मन्त्री दिलिप घोषको बाहुलीबाट विधिवत् रूपमा उदघाटन गरिएको र यस अवसरमा मन्त्रीले दार्जिलिङ हिमालयन रेलवेले गरिरहेको विभिन्न कार्यको सराहना गरेका थिए। मन्त्री शनिवार खरसाङम हुने कार्यक्रममा पनि सहभागी हुने भएको छ।’











