विकसित भारत निर्माणका लागि केन्द्रसँगै हिँड्ने प्रतिबद्धता
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किमका सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने कीर्तिमान कायम गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। प्रधानमन्त्री मोदीले स्वर्गीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ऐतिहासिक कीर्तिमानलाई पार गरेका छन्। एसकेएम पार्टीले ४,३९९ दिनको यो ऐतिहासिक उपलब्धिले समर्पित सेवा, दूरदर्शी नेतृत्व, विकास तथा राष्ट्र निर्माणको असाधारण यात्रालाई प्रतिबिम्बित गरेको बताएको छ।
एसकेएमका केन्द्रीय प्रवक्ता बिकास बस्नेतले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पूर्वाधार, डिजिटल सुशासन, आर्थिक वृद्धि, सामाजिक कल्याण, स्वास्थ्य सेवा, महिला सशक्तीकरण, युवा विकास, राष्ट्रिय सुरक्षा तथा विश्व कूटनीतिका क्षेत्रमा रूपान्तरणकारी प्रगति हासिल गरेको उल्लेख गरेका छन्। ‘अष्टलक्ष्मी’ को भिजनमार्फत उत्तर-पूर्वी क्षेत्रले अभूतपूर्व प्राथमिकता प्राप्त गरेको चर्चा गर्दै उनले यस क्षेत्रमा यातायात, सञ्चार सम्पर्क, पूर्वाधार, लगानी, पर्यटन र नयाँ अवसरहरूको ठूलो विस्तार भएको बताएका छन्। प्रधानमन्त्री मोदीको निरन्तर मार्गदर्शन र सहयोगकै कारण आज सिक्किमले पनि प्रगतिको मार्गमा निरन्तर फड्को मारिरहेको प्रवक्ता बस्नेतले दाबी गरे।
विज्ञप्तिमा अझ भनिएको छ, सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको सफल आयोजना तथा विभिन्न महत्वपूर्ण विकास परियोजनाहरूको समर्पणले सिक्किमका जनताको प्रगति र कल्याणप्रति केन्द्र सरकार कति प्रतिबद्ध छ भन्ने कुरालाई थप स्पष्ट पारेको छ। एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ-को कुशल नेतृत्वमा तथा एनडीए-को एक गर्विलो सहयोगी दलका रूपमा एसकेएम सरकार विकसित, सशक्त र आत्मनिर्भर राष्ट्र निर्माणको साझा दृष्टिकोण साकार पार्न भारत सरकारसँग सधैँ घनिष्ठ सहकार्यमा काम गर्न प्रतिबद्ध रहेको छ।
प्रवक्ता बस्नेतले प्रधानमन्त्री मोदीले सिक्किमलाई “पूर्वको स्वर्ग” तथा “अर्किडहरूको बगैँचा” भनेर गरेका आत्मीय सम्बोधनले राज्यका जनतालाई निरन्तर प्रेरित गरिरहेको बताएका छन्। यस सम्बोधनले यहाँको सांस्कृतिक सम्पदाको संरक्षण, पर्यावरणीय संरक्षण र दिगो विकासको मार्गमा आत्मविश्वासका साथ अघि बढ्न सिक्किमेलीहरूलाई थप उत्साह प्रदान गरेको छ। “सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास” को मूल मन्त्र र दृष्टिकोणबाट निर्देशित हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई समावेशी विकास र राष्ट्रिय रूपान्तरणको उल्लेखनीय यात्रामा अघि बढाइरहेको एसकेएम प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्।










