डुआर्स: चिया कमानमा हात्तीको ताण्डव, आक्रमणमा परी एक श्रमिकको दुःखद मृत्यु

dead-body

जलपाईगुड़ी: डुआर्सको चिया कमान क्षेत्रमा जङ्गली हात्तीको आतङ्क थामिने नाम लिइरहेको छैन। आज सोमवार बिहान मेटेली ब्लक अन्तर्गत नागेश्वरी चिया कमानमा चिया पत्ती टिपिरहेको समयमा एउटा जङ्गली हात्तीले अचानक हमला गर्दा एकजना कमान श्रमिकको घटनास्थलमै दर्दनाक मृत्यु भएको छ। यस दुःखद घटनाले सम्पूर्ण क्षेत्रमा शोक अनि सन्त्रासको माहौल सृजना गरेको छ।
​प्राप्त जानकारी अनुसार मृत श्रमिकको पहिचान नागेश्वरी कमानकै रैथाने बासिन्दा ४० वर्षीय दीपक ग्वालाको रूपमा गरिएको छ। स्थानीय सूत्रहरूले दिएको जानकारी अनुसार आज बिहान एउटा जङ्गली हात्ती रैथाने जङ्गलबाट निस्केर सुरुमा जुरन्ती चिया कमानभित्र पसेको थियो र त्यहाँबाट घस्रिँदै उक्त हात्ती नागेश्वरी चिया कमानको १९ नम्बर बी सेक्शनमा आइपुगेको थियो।
​त्यस बेला कमानका अन्य श्रमिकहरूसँगै दीपक ग्वाला पनि आफ्नो दैनिक काममा ब्यस्त थिए। कमानको बाक्लो चिया बुट्टाको ओझेलबाट अचानक निस्केको हात्तीले दीपकमाथि धावा बोल्यो। हात्तीको सुँढ र खुट्टाको घातक प्रहारबाट गम्भीर घाइते भएका दीपकको घटनास्थलमै प्राण पखेरू उड्यो। कमानमा उत्पात मच्चाएपछि उक्त हात्ती आइबिल चिया कमानतिर सोझिएको खबर छ।
​घटनाको खबर डढेलोझैं फैलिएपछि मेटेली थानाको पुलिस प्रशासन, वन विभागको खुनिया स्क्वाडका कर्मीहरू र केन्द्रीय बल तुरन्तै घटनास्थलमा आइपुगेका थिए। वन कर्मी र पुलिस टोलीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जलपाईगुड़ी अस्पताल पठाइसकेको छ। वन विभागले हात्ती अहिले कुन दिशातिर गइरहेको छ भन्ने कुरामाथि आफ्ना टोलीहरूले कडा नजर राखिरहेको जनाउँदै कमान क्षेत्रका मानिसहरूलाई सतर्क रहन अपील गरेको छ।
​यसैबीच घटनाको खबर पाएलगत्तै भारतीय जनता पार्टीका स्थानीय नेता अमित छेत्री पनि घटनास्थलमा पुगेर मृतकका शोक सन्तप्त परिवारलाई भेटेर गहिरो समवेदना प्रकट गरे। उनले पीड़ित परिवारलाई हरसम्भव सहयोग गर्ने र सरकारी नियम अनुसार वन विभागबाट मिल्ने उचित सरकारी क्षतिपूर्ति दिलाउनका लागि कड़ा पहल गर्ने आश्वासन दिएका छन्। यस घटनापछि रैथाने कमानवासीहरूमाझ वन विभागको भूमिकाप्रति असन्तोष र जङ्गली जनावरको बढ़्दो उपद्रोलाई लिएर ठूलो सन्त्रास फैलिएको छ।

About Author

Advertisement