गान्तोक: “नशामुक्त भारत, नशा मुक्त सिक्किम” को एउटा बलियो सन्देश बोकेर टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालयको खेलमैदानमा चलिरहेको अन्तर विभागीय टी२० समर कप क्रिकेट प्रतियोगिता हिजो आइतबार भव्य रूपमा सम्पन्न भएको छ। खेलकुदको भावनालाई जगाउने, समाजमा आपसी मेलमिलाप बढाउने अनि आजको युवा पुस्तालाई नशाको चंगुलबाट जोगाएर एउटा स्वस्थ समाज निर्माण गर्ने मूल उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको थियो।
यस समापन समारोहमा ग्राम विकास विभागका ओएसडी एवं एसकेएम पार्टीका प्रवक्ता कृष्ण लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँगै पूर्व विधायक एवं सिक्किम विधानसभाका पूर्व उपाध्यक्ष साङ्गे लेप्चा, मुख्यमन्त्रीका ओएसडीहरू क्रमश: डीगम गुरुङ, रेमन थापा, बसन्त तामाङ, डम्बर प्रधान, करन मंगर, डीपी शर्मा, डा. बिष्णु भुजेल, पुजन राई र गेजिङ जिल्लाका निम्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्माको पनि गरिमामय उपस्थिति रहेको थियो।
फाइनल खेल सुरु हुन अघि भेटरन XI टाशीडिङ र ओएसडी XI बीच एउटा रोचक प्रदर्शनी खेल खेलिएको थियो, जसले मैदानको माहौललाई निकै तताएको थियो। यसपश्चात् उपाधिका निम्ति टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालय र चोङराङ बीएसी टोलीबीच कड़ा भिडन्त भयो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे तापनि अन्ततः टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालयले बाजी मार्दै यस वर्षको समर कप आफ्नो नाममा गर्न सफल बन्यो।
मुख्य अतिथिको आसनबाट बोल्दै ओएसडी कृष्ण लेप्चाले ‘नशामुक्त सिक्किम’ अभियानलाई कुनै एक व्यक्तिको मात्र नभएर सम्पूर्ण राज्यकै एउटा साझा जिम्मेवारीको रूपमा लिनुपर्ने कुरामा जोड दिए। नशाको कुलतले आज हाम्रा होनहार युवाहरूको भविष्य, उनीहरूको परिवार र सिंगो समाजलाई नै भित्रभित्रै खोक्रो बनाउँदै लगेकोमा चिन्ता व्यक्त गर्दै उनले उपस्थित युवा तथा अभिभावकहरूलाई यस खराब बाटोबाट टाढै बसेर आफ्नो भविष्य निर्माणमा समर्पित हुन आग्रह गरे। उनले नशामुक्त सिक्किम निर्माणका निम्ति राज्य सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको बताउँदै यस पवित्र अभियानमा नागरिक समाजलाई पनि सहभागी बनिदिने अपिल गरे।
युवाहरूलाई कुलतबाट टाढा राख्ने सबैभन्दा अचुक र प्रभावकारी माध्यम नै खेलकुद र शिक्षा भएको बताउँदै ओएसडी लेप्चाले खेलकुदले युवाहरूमा अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने कुरा प्रस्ट पारे। राज्य सरकारले सिक्किममा क्रिकेट खेलको विकास र खेलाडीहरूको भविष्य सुनौलो बनाउन थुप्रै सकारात्मक पहलहरू गरिरहेको जानकारी दिँदै उनले युवाहरूलाई खेललाई केवल मनोरञ्जन मात्र नमानी यसैमा आफ्नो करियर खोज्न पनि प्रेरित गरे।

एउटा यति सुन्दर र उद्देश्यमूलक क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा उनले क्रिकेट एसोसिएसन अफ टाशीडिङलाई बधाई तथा शुभकामना टक्र्याए। प्रतियोगिताको समापन विजेता र उपविजेता टोलीहरूलाई पुरस्कार वितरण गरेर गरियो। खेलकुदको माध्यमबाट सामाजिक एकता र नशामुक्त समाजको एउटा ठूलो सन्देश दिन आफूहरू सफल भएको आयोजक पक्षले जनाएको छ।









