आँगनवाडी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधासम्पन्न बनाइने
दार्जिलिङ: पश्चिम बंगालकी उप मुख्यमन्त्री अग्निमित्र पल आफ्नो दुई दिने दार्जीलिङ भ्रमणको क्रममा आज लुङथामस्थित आँगनवाडी केन्द्रको निरीक्षणमा पुगिन्।उप मुख्यमन्त्रीसँगै सांसद राजु विष्ट लगायत अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए। यस अवसरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ तराई डुवर्सलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकार गठन भएको एक महिनाभित्रै पहाडलाई लिएर सकारात्मक घोषणाहरू भएको बताए। उनले हिजो मात्रै सरकारले दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढीलाई “हिमालयन सिटी” घोषणा गरेको जानकारी दिँदै यसलाई ठूलो उपलब्धि बताएका छन्। यसको साथै स्थायी राजनीतिक समस्याको समाधानका लागि दार्जीलिङमा इन्टरलोक्युटर आएको र सबै पक्षसँग भेटघाट गर्दै काम भइरहेको पनि सांसद विष्टले बताए।
दार्जिलिङको नगरपालिका अध्यक्षले हिजो उप मुख्यमन्त्रीसँग भेट गरेको उल्लेख गर्दै अहिलेको बोर्डको कार्यकाल रहँदासम्म सरकारले सहयोग गर्ने उनले बताए।
त्यसैगरी सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शन तथा उप मुख्यमन्त्री अग्निमित्र पलको नेतृत्वमा आँगनवाडी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधासम्पन्न बनाइने र बालबालिका तथा नयाँ अभिभावकहरूको समग्र विकास केन्द्रका रूपमा रूपान्तरण गरिने योजना रहेको बताए।








