नाम्ची: भारतीय खेलकुद प्राधिकरण (एसएआई), एसटीसी नाम्ची, माई भारत तथा खेलकुद एवं युवा मामिला विभाग, नाम्चीको संयुक्त तत्त्वावधानमा आज नाम्ची जिल्लामा विश्व साइकल दिवस उत्साहका साथ पालन गरियो। यस वर्षको कार्यक्रम “सन्डे अन् साइकल” (आइतबार साइकलमा) भन्ने विशेष थीम मा आधारित रहेको थियो।उक्त अवसरमा आयोजना गरिएको साइकल र्यालीमा जिल्लाका विभिन्न सरकारी अधिकारीहरू, विद्यार्थीहरू र साइकल प्रेमीहरूको ठूलो संख्यामा उत्साहजनक सहभागिता रहेको थियो। केवल साइकल र्यालीमा मात्र सीमित नरहेर कार्यक्रमलाई अझ आकर्षक बनाउन विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिएका थिए। जसमा केटाहरूका निम्ति १०० मिटर स्प्रिन्ट, केटीहरूका निम्ति ६० मिटर स्प्रिन्ट, महिलाहरूका लागि वाकाथन र सबैका लागि पासिङ-द-बल प्रतियोगिता सामेल थिए।”साइकल एक सरल, सस्तो, भरपर्दो र पर्यावरणीय रूपमा पूर्ण दिगो यातायातको माध्यम हो। साइकल चलाउनाले धेरै शारीरिक स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् र सबै उमेर समूहका व्यक्तिहरूले यसको आनन्द लिन सक्छन्।”कार्यक्रमलाई सम्बोधन गर्दै एसटीसी नाम्चीका प्रभारी रुबेन प्रधानले मानव जीवन र पर्यावरणमा साइकलको महत्त्वमाथि प्रकाश पारे।यस भव्य कार्यक्रममा सिक्किम युवा विकास बोर्डका अध्यक्ष बसन्त योन्जन तामाङ र कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।










