खरसाङ: अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति, श्री भिमेश्वर मन्दिर पक्षबाट खरसाङको राज राजेश्वरी हलमा सङ्गठनका अध्यक्ष भाजु प्रकाश प्रधानको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरियो। गुबाजु अलङ्कार नेवारले सञ्चालन गरेको सभामा स्वागत सम्बोधन सङ्गठनका उपाध्यक्ष मयजु पुनम प्रधानले राखिन्। सभामा अभानेस केन्द्रीय समिति अध्यक्ष भाजु एसएन प्रधान अनि सचिव भाजु उत्तम प्रधान उपस्थित रहेका थिए। सभा सम्पन्न गर्नअघि नेवारी पानस र सुर्कुडामा दीप प्रज्वलन सभा अध्यक्ष तथा केन्द्रीय अध्यक्ष सचिवद्वारा गरियो साथै नेवार परिवारहरूका दिवङ्गत सदस्यहरूको नाममा एक मिनटको मौनधारण गरियो भने राष्ट्रियगीत साथै नेवारी राष्ट्रिय गीत पनि गाइयो।

सभामा अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सचिव भाजु सुबास प्रधानले सङ्गठन विषय अनि सचिवको बार्षिक प्रतिवेदन प्रस्तुत गरे भने नेवारी सांस्कृतिक विभागीय सदस्यहरूले प्रत्येक कार्यक्रमतिर सहयोग पुर्याएकोमा सदस्यहरू अनि लाखे टोलीलाई सम्मान गरियो औ गुवाजुहरूलाई पनि सम्मान गरियो। सिरिसे नेवार शाखाद्वारा नेवारी नृत्य प्रस्तुत गरेका थिए भने नेवारी सांस्कृतिक बाजा धिमे भुसिया सङ्गठनकै मयजहरूले बजाए। खरसाङ नगरपालिका वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीशसम्म साथै घुम्ती नेवार सङ्गठन , तीनधारे नेवार सङ्गठन , रोहिणी शाखा, करबिर प्रधान समाजका प्रतिनिधिहरूलाई पनि सम्मान गरियो।

अभानेस केन्द्रीय अध्यक्ष, सचिवद्वारा संगठन विषय लिएर नेवारहरू कसरी संगठित रहनु भन्ने विषयमा आफ्नो भनाइ राखे भने खरसाङ आञ्चलिक अध्यक्षद्वारा उपस्थित सदस्यहरूलाई सम्बोधन गर्दै सभा पनि बर्खास्त गरे भनी सङ्गठनका सह सचिव भाजु गणेश प्रधानले जानकारी दिएका छन्।











