‘सिक्किम प्रकृति र दिगो विकासको उत्कृष्ट उदाहरण’
गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तमांगले विश्व पर्यावरण दिवसको अवसरमा सिक्किमेली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सामाजिक सञ्जाल मार्फत एक सन्देश जारी गर्दै उहाँले सिक्किमको प्राकृतिक सौन्दर्य र दिगो विकासप्रतिको प्रतिबद्धतालाई उजागर गर्नुभएको हो।
मुख्यमन्त्री गोलेले सिक्किमको अद्वितीय प्राकृतिक बनोटको चर्चा गर्दै भन्नुभएको छ:
”विशाल पहाड, कञ्चन नदी, समृद्ध जैविक विविधता र जीवन्त वनजङ्गलले आशिर्वाद पाएको सिक्किम प्रकृति र दिगो विकासबीचको सामंजस्यको एउटा उत्कृष्ट उदाहरण हो। भारतकै सबैभन्दा पर्यावरण-सचेत राज्यहरूमध्ये एक भएकाले पारिस्थितिक सन्तुलन कायम राख्न र आफ्नो प्राकृतिक सम्पदाको रक्षा गर्न हाम्रो प्रतिबद्धता सधैं झन् मजबुत रहनेछ।”
यस विशेष अवसरमा उहाँले राज्यका नागरिकहरूलाई पर्यावरण संरक्षणप्रतिको सामूहिक जिम्मेवारीलाई पुनः आत्मसात गर्न आग्रह गर्नुभयो। आउने पुस्ताका लागि सफा, हरियो र स्वस्थ भविष्य निर्माण गर्न दिगो बानीहरू अपनाउँदै सबैलाई मिलेर काम गर्न उहाँले आह्वान समेत गर्नुभएको छ।
सन्देशको अन्त्यमा मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “विश्व पर्यावरण दिवसले हामी सबैलाई धर्ती माताको कदर, रक्षा र संवर्द्धन गर्ने प्रेरणा दियोस्।”










