नयाँ दिल्ली: आजभोलि मोटोपन एउटा ठूलो स्वास्थ्य समस्या बनेर अघि आइरहेछ। साधारणतया मानिसहरूले मोटोपनलाई मुटुको बिमारी, हाई ब्लड प्रेसर र सुगर (डायबिटिज)-सँग मात्र जोडेर हेर्ने गर्छन्। तर, यसको सोझो असर हाम्रो शरीरको अन्य मुख्य अंगहरूमा पनि पर्न सक्छ। किड्नीले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने र कतिपय जरुरी कामहरूलाई नियन्त्रण गर्ने महत्त्वपूर्ण भूमिका निभाउँछ, तर बढ्दो तौलले यसको स्वास्थ्यलाई पनि असर पार्न सक्छ।
मोटोपन केवल शरीरको आकार वा तौलमा मात्र सीमित रहने समस्या होइन। यसले कतिपय यस्ता स्वास्थ्य समस्याहरूको जोखिम बढाइदिन्छ, जसले समय बित्दै जाँदा शरीरका धेरै अंगहरूलाई नोक्सान पुऱ्याउन सक्छ। किड्नी पनि त्यस्तै अंगहरूमध्ये एक हो, जसले शरीरलाई निको राख्नका लागि लगातार काम गरिरहन्छ। तर, किड्नीसँग जोडिएका समस्याहरूले सुरु-सुरुमा कुनै स्पष्ट लक्षण देखाउँदैनन्, जसले गर्दा मानिसहरू लामो समयसम्म यसबाट अनजान रहन सक्छन्। यस्तो अवस्थामा, बढ्दो मोटोपनले किड्नीलाई कसरी असर गर्छ, कस्ता लक्षणहरू देखा पर्छन् र यसबाट बच्न के-कस्ता उपायहरू अपनाउनु पर्छ, ती सब जानिराख्नु एकदमै आवश्यक छ।
मोटोपनले किड्नीलाई कसरी असर गर्छ?
नेसनल किड्नी फाउन्डेसनका अनुसार, मोटोपनले क्रोनिक किड्नी डिजिज (सीकेडी) को खतरालाई बढाइदिन्छ। विशेषज्ञहरू भन्छन् कि तौल धेरै भएपछि शरीरलाई सामान्य रूपले काम गर्नका लागि अझ धेरै मिहिनेत गर्नुपर्छ, जसले गर्दा किड्नीमाथि धेरै दबाब पर्न जान्छ। यसबाहेक, मोटोपनले गर्दा हाई ब्लड प्रेसर र टाइप २ डायबिटिज जस्ता बिमारीहरू हुने गर्छन्, जुन किड्नी खराब हुने मुख्य कारणहरू हुन्। लामो समयसम्म तौल बढिरहँदा किड्नीको काम गर्ने क्षमता घट्न सक्छ।
लक्षणहरू के-के हुन सक्छन्?
किड्नीको समस्या सुरुमा थाहा पाउन गाह्रो हुन्छ। तैपनि, कतिपय मानिसहरूमा खुट्टा, गोलीगाँठो(टखना) वा अनुहार सुन्निने, धेरै थकाई लाग्ने, घरीघरी पिसाब लाग्ने वा पिसाबसँग जोडिएका अन्य समस्याहरू देखिन सक्छन्। यसबाहेक भोक कम लाग्नु, कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुनु वा शरीर कमजोर भएको महसुस हुनु पनि किड्नीको समस्याको संकेत हुन सक्छ। यदि यस्ता लक्षणहरू लगातार देखिइरहेका छन् भने डाक्टरको सल्लाह लिएर जाँच गराउनु पर्छ।
मोटोपन नियन्त्रण र किड्नीलाई स्वस्थ राख्ने उपाय:
तौललाई ठीक राख्नका लागि सन्तुलित खानपान र नियमित रूपले शारीरिक व्यायाम वा हिँडडुल गर्नुपर्छ। जंक फूड, धेरै गुलियो चीजहरू र प्रोसेस्ड फूड खानु कम गर्नुपर्छ। यसका साथै पर्याप्त मात्रामा पानी पिउने, ब्लड प्रेसर र ब्लड सुगरलाई नियन्त्रणमा राख्ने अनि समय-समयमा हेल्थ चेकअप गराइरहनु पर्छ। धुम्रपान र धेरै रक्सी पिउने बानीबाट टाढै बस्दा पनि किड्नीलाई स्वस्थ राख्न धेरै मद्दत मिल्छ।











